गणतन्त्रप्रतिको निष्ठा
गणतन्त्रप्रतिको निष्ठा
सर्वप्रथम देश र जनताका लागि हाँसीहाँसी प्राणको आहुति दिने सच्चा सपूत ज्ञात–अज्ञात सम्पूर्ण वीर शहीदहरूलाई नमन गर्दछु । श्रद्धाञ्जली व्यक्त गर्दछु । नयनाञ्जली समर्पण गर्दछु । साथै जनआन्दोलनमा घाइते, अपाङ्ग भई अहिले पनि कहर खपिरहनुभएका पिल्सिएका जनताको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
देश र जनताका परिवर्तनका लागि शहीदहरूले अग्रमोर्चामा खटी बलिदानी गर्न तँछाडमछाड गरेका थिए । एउटा महान् लक्ष्यका साथ निरङ्कुश राजतन्त्र हटाई गणतन्त्र ल्याउन यसरी शहीदहरूले युग बदल्नका लागि हाँसीहाँसी बलिदानी दिएका थिए । उनीहरूको मुख्य लक्ष्य महान् उद्देश्य छिटै पूरा गर्नुमा थियो । ती नेपाल आमाका सच्चा सपूतहरूका सपना साकार पार्नु प्रत्येक व्यक्तिको दायित्व अनि कर्तव्य हो । यसमा दुईमत छैन कि यदि यसरी बलिदानी नदिएका भए अझै पनि हामी दास युगमा पिल्सिरहेका हुनेछौँ । यसैले गर्दा नै पुरानो युग ढलेर नयाँ युग आउन सम्भव भएको हो ।
यसरी हाम्रो देशमा विभिन्न रूपमा परिवर्तन भएको ठोकुवा गरे तापनि आम गरिब तथा निमुखा जनता अझै पनि गरिबै छन् । थिचोमिचो उस्तै छ । भेदभाव कति पनि हटेको छैन । भ्रष्टाचार झनै व्याप्त छ । त्यसैले यस्ता कुसंस्कारहरू हटाउन सबै सचेत नागरिकहरू जुर्मुराउनुपर्ने बेला आएको छ । अनि मात्र देश र जनताको हक अधिकार सुरक्षित हुने देखिन्छ । अर्कोतिर हाम्रो देशमा भएका जनआन्दोलनहरूमा त्यत्रो एकलाखभन्दा बढी जनताले गरेको बलिदानीबाट पाएका उपलब्धिहरूलाई रक्षा गर्दै क्रान्तिको झण्डा गाड्दै अघि बढ्दै अग्रगमन दिशातर्फ उन्मुख भइरहनुपर्ने आजको टड्कारो आवश्यकता हो ।
शहीदले गरेको त्याग, तपस्या र बलिदानले आज हामीले सास फेर्न पाएका छौँ । त्यति मात्र ठूलो कुरो होइन । यसका लागि हामी प्रगतिशील उन्मुख हुनैपर्छ । आम सर्वसाधारणको जीवन अझै बदलेको आभास छैन । अझै उहाँहरूलाई एक छाक खान धौधौ छ । उहाँहरूको जीवनस्तर अति सामान्य छ । अघि पनि भनिसकेँ हामीले गरेको परिवर्तन भन्छौँ हामी तर त्यसमा शहीदहरूको ठूलो योगदान छ । तर सास फेर्न पाउनु मात्र परिवर्तन होइन । यसको आडमा हामी हिँड्न र आफ्नो खुट्टामा उभिन सक्ने हुनुपर्छ । अनि मात्र साँचो परिवर्तन हो भन्ने ठोकुवा हुन्छ । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि हामी अब शहीदको परिवर्तनको जगमा टेकेर अघि बढ्ने बाटोमा जान थालेका छौँ । अझै उपलब्धि गुम्ने खतरा पनि त्यतिकै छ । सबै जना नमिलेमा यस्ता परिवर्तनमुखी आधारहरू नष्ट हुन सक्छन् ।
अहिले पनि बेपत्ता परिवारहरू अभिभावकविहीन भएर बस्नुपरिरहेको अवस्था छ । शहीदका परिवारजनहरू पनि यसरी नै परिवारविहीन भई बस्नुपरेको अवस्था छ । अहिलेको कानुन देश र जनताका लागि अग्रगमनकारी देखिन्छ तर कार्यान्वयन पक्षलाई हेर्ने हो भने पञ्चायतकालमा भएका कानुनलाई मात्र अलिअलि फेरबदल अनि सम्पादन गरेर काम चलाइरहेको पाइन्छ त्यसैले फितलो छ । यसका कारण अझै पनि परिवर्तन गर्न नचाहने यथास्थितिवादी शक्तिहरू हावी भइरहेको देखिन्छ । शहीद कृष्ण सेन इच्छुकले भन्नुभएजस्तै “सर्पहरू काला हुन् वा सेता, नीला वा पहेँला जस्ता भए पनि आखिर सर्प नै हुन् । एक न एक दिन ती विषालु सर्प विषहीन पार्नै पर्छ ।” विषयुक्त नागजस्ता गद्दारहरू सखाप पार्नै पर्छ । सम्बन्धित निकायमा भएरै पनि देशका जनताका लागि काम गर्न आनाकानी गर्ने अनि अल्छी प्रवत्ति गर्नेहरू शत्रु वर्ग नै हुन् । यी विभिन्न रूपका सर्पजस्तै अवश्यै पनि यस्ता समाजका शत्रु वर्गलाई परास्त गर्न प्रत्येक न्यायप्रेमी जनता सधैँ एकजुट भइरहनु नै पर्दछ । त्यसैले कोही पनि आफ्नो दायित्वबाट पन्छिनु हुँदैन । जुर्मुराउनुपर्दछ । निरन्तर परिवर्तनउन्मुख भइरहनुपर्दछ । यो विचार नै प्रगतिशील विचार हो । यसलाई अङ्गीकार गर्नैपर्छ । संसारैमा निर्दोष गरिब जनताको हितमा भन्दा आफ्ना विरोधीलाई कसरी सखाप पार्ने अनि कसरी आफू सर्वशक्तिमान् बन्ने जसरी भए पनि आफ्नो राज्यसत्तामा कसरी हालीमुहाली हुने भन्ने दम्भ बढ्दो छ । कोही ऐश–आरामैमा आकाश छुने महलमा बस्ने अनि चौरासी व्यञ्जन खाने त कोही भने थाङ्नामा सुत्ने अनि दुई दिनमा एक छाक खान पनि नपाई अधिकांशले भोको पेट बस्नुपर्ने यस्तो विडम्बनायुक्त असमानता हट्नु जरुरी छ । हामीले पनि विवेकले कुँदिएको शहीदको झैँ तन बनाई सही मार्गमा लागी शोषित उत्पीडित व्यक्तिहरूको हक–हितका लागि आआफ्नो ठाउँबाट डट्नु आवश्यक छ । त्यसर्थ समग्ररूपमा देश र जनताको हितमा कार्य गर्न राम्रोसँग विज्ञहरू राखी कानुनको कार्यान्वयन पक्ष दह्रो बनाउनुपर्ने देखिन्छ । अनि मात्रै देश र जनताको हक–हितका लागि कार्य गर्न सहज हुने देखिन्छ ।
यस्तै विकराल असमानता हटाउन जनताले गणतन्त्रका लागि सदियौँदेखि पराकाष्ठासम्मको सङ्घर्ष गरेको कुरामा दुई मत छैन । अन्य देशको तुलनामा धेरैपछि नेपालमा पनि जनताले २०६५ जेठ १५मा गणतन्त्र स्थापना गरी विजयी सफलता प्राप्त गरे । फलस्वरूप जनप्रतिनिधिहरू सत्तामा पुगेपछि जनतालाई भुले । ब्युरोक्रेसीहरू घुसखोरीमा लिप्त भई आफ्ना सञ्जाल सुदृढ पार्दै पुरानै सत्ता टिकाउन माहिर भइरहे । उनीहरूले खुला आकाशलाई जनताका लागि खुला जेलजस्तो बनाइदिए, बनाइरहेका छन् । नेताहरू राजनीतिक खिचातानीमै व्यस्त भइरहे । यसले सर्वसाधारण जनतामा निराशा व्याप्त छ ।
सदियौँदेखि दासता, निरङ्कुशता भोग्दै आएका नेपाली जनताको संविधानसभाद्वारा राजतन्त्रको अन्त्य गर्ने २००६ सालदेखिको चाहना मुखरित हुन थालेको थियो । अवश्य नै यो २०६५ जेठ १५ गते जनताले जितेको ठूलो दिन हो । धेरै समयको प्रतीक्षापछि विधिवत रूपमा विनारक्तपात जनताको हातमा सत्ता आएको छ । अब जनताका छोरोछोरीहरू पनि राष्ट्रप्रमुख हुन पाउने अवअसर पाएका छन् । यो ठूलो विजयको दिन हो । यसको अर्थ फेरि अरूलाई राजाजस्तो निरङ्कुश शासक हुन दिनु कदापि होइन । गणतन्त्र जनताको शासन हो । गणतन्त्रमा लोकतन्त्र हुन्छ । गणतन्त्रमा मानव अधिकार प्रत्याभूति हुन्छ । गणतन्त्रमा न्याय र समानता हुन्छ । गणतन्त्रमा राजाको शासन हुँदैन । गणतन्त्रको प्रमुख मूल्यमान्यता भनेको विधिको सर्वोच्चता हो । अब कानुनभन्दा माथि कोही छैन, हुनेछैन र हुनु पनि हुँदैन । यही गणतन्त्रले सबैलाई देश र जनताको हितको बाटोमा ल्याइदिन्छ । मात्र सबै जना न्यायका पक्षमा अडिग भएर उभिन सक्नुप¥यो ।
तैपनि नेताहरू म्युजिकल चियरजस्तो कसले कुर्सी ताक्ने अनि कसरी सर्वेसर्वा हुने भन्नेमा नै केन्द्रित भए । कहिल्यै जनताका यावत् समस्यामा ध्यानै गएको देखिएन । नेताहरूले परिवर्तन नहुनुको कारण अनेकौँ देखाएर आफू पानीमाथिको ओभानो बन्ने प्रयासरत देखिन्छ । अझै पनि कागजमा त संविधान पनि आयो गणतन्त्र पनि आयो तर संस्थागत हुन सकेको देखिँदैन । नागरिकहरूले अनुभूति गर्न पाएनन् । यसले जनतामा एक किसिमको नैराश्यता छाइरह्यो । त्यो नयाँ युग जनताको दैलोसम्म आएको छैन ।
नेताहरूको अकर्मण्यता अनि ब्युरोक्रेसीको पुरानै अनैतिकताले सम्पूर्ण जनताले पाईपाई गरेर तिरिररहेको करको सदुपयोग भएको देखिएन । अरू त अरू यो कोरोनाको महामारीमा पनि सबै दलहरू सत्ताको लुछाचुँडीमै व्यस्त भए । आफ्नो शक्तिप्रदर्शनमा पैसाको खोलो बगाउन सक्ने नेताहरूले थिलथिलो भइसकेका जनताको अभाव र गरिबीमाथि झण्डै दुई वर्षको लकडाउनले ऋणै ऋणले आत्महत्या गर्न मात्र बाँकी रहेको स्थितिलाई पार गर्ने कोही पनि निस्किएनन् । यसरी नेताहरू सत्तादोहनमै व्यस्त भए । पटक–पटक सत्ता फेरिए पनि अन्तर्राष्ट्रिय दात्री निकायबाट सहयोगस्वरूप पाएका राहत सामग्रीहरू न त महाभूकम्पमा न त यो कोरोनाको महामारीमा, राहत पाउनुपर्ने आमजनताको हातसम्म पुग्न सक्यो !
लाखौँ शहीदले बलिदानी गरेर आएको हो यो गणतन्त्र । कैयौँ अङ्गभङ्ग भए, कैयौँ बेपत्ता भए, जनताले यो उपलब्धिका लागि पराकाष्ठासम्मका कठोर कष्टहरू खपे । अझै यसका साइडइफेक्टहरू झेलिरहेका छन् । यी सबै देश परिवर्तन हुन्छ भन्ने एउटै आशाका साथ भएको थियो । अघि पनि भनिसकेँ गणतन्त्र आइसकेको व्यवस्था र पहिलेको व्यवस्थामा केही परिवर्तन भएको देखिएन । मात्र पहिले परिवर्तनका कुराहरू बोल्न पाइँदैनथ्यो अहिले बोल्न पाइन्छ तर कार्यान्वयनका रूपमा कुनै पनि कुरा परिवर्तन भएको जनताले आभास पाएनन् । जनतालाई आकाशको फल आँखा तरी मर् भनेझैँ भइरह्यो ।
जनताले कति खप्ने ? अनि कति कहर सहेर बस्ने ? कि अब परिवर्तन हुन्छ भनेर । जनतालाई नभई नहुने कपास, शिक्षा, स्वास्थ्य, रोजगार, खाद्यान्न, वासजस्ता अत्यावश्यक कुराहरू अझै पनि सर्वसुलभरूपमा ग्यारेन्टीका साथ पाइरहेका छैनन् । धनी र गरिवबीचको दायरा झनै बढ्दै गइरहेको छ । अर्कोतिर राज्यले अकुत सम्पत्ति हुनेहरूलाई सम्पत्तिको सीमा तोक्न सकेन । यदि यसरी सीमा तोक्न सकेको भए त्यो बढी सम्पत्ति अभावग्रस्त जनतामाझ समान वितरण गर्न सकिन्थ्यो । यसरी कार्यान्वयन पक्ष फितलो भइरह्यो । शहीदको अपमान व्याप्त भइरह्यो ।
राजनीतिक दलहरूमा पनि राम्राहरू पनि नभएका होइनन् । त्यसलाई विफल पार्ने तत्त्व व्याप्त भइरह्यो । राम्राहरू ओझेलमा परिरहे । पुराना व्यवस्था नै मनपराउने र सकेसम्म पुरानो व्यवस्था नै राम्रो देखाउन तत्पर ब्युरोक्रेसीको सञ्जाल अझ विकराल भइरह्यो । यही कारणले पुरानो घुसखोरी व्यवस्था खत्तम हुन सकेको छैन । उनीहरू पुरानै व्यवस्था उल्ट्याउन, उद्दत छन्, तत्पर छन्, चाहन्छन् । व्यवस्था त कागजमा फेरियो तर काम गर्ने तौरतरिका फेरिएको छैन । यसतर्फ सबैले आआफ्नो ठाउँमा डटेर जनताका अधिकारहरू सुनिश्चित गर्नमा तत्पर हुनु आवश्यक छ । जनतामा पनि पैसा कमाउनेको भन्दा इमानदार बनेको सफलता हो भन्ने आभास दिलाउन सत्ता सञ्चालकहरूले पुरस्कारको व्यवस्था गरेर पैसा कमाउने मात्रै राम्रो हो भन्ने कुरालाई असफल बनाइदिन सक्नुपर्छ । घुसखोरीको सम्पत्ति जफत गर्न सक्नुपर्छ ।
अर्कोतर्फ राजनीतिक दलहरू सधैँ राजनीतिक विवाद मिलाउनमै व्यस्त भइरहे । यसले जनमुखी कार्य ओझेलमा पर्दै गयो । सत्तामा पुगेको अहिलेका सत्ता सञ्चालकहरू आफ्नो सत्ता जोगाउन जे पनि गर्न सक्ने भए । कोरोनाको रोकथाममा खट्नु मात्र सफलता होइन जनताको भोकको समस्या विकराल भइसकेको छ । लकडाउनले सबैको रोजीरोटी खोसिएको छ । अब यसतर्फ पहिलो ध्यानाकर्षण हुनु अत्यन्त जरुरी भइसकेको छ ।
आज हरेक नेता सैद्धान्तिक धरातलबाट विचलित भएको देखिन्छ । परिवर्तन आए पनि नेताहरूको सम्झौतापरस्त प्रकृयाले गर्दा उनीहरूमात्र मोटाइरहेको देखिन्छ । नेताको काम कार्यकर्ता मात्र पाल्ने होइन देशका यावत् समस्यामा पनि उहाँहरूको ध्यान जानु आवश्यक छ । त्याग, तपस्या–बलिदानीको खडेरी पर्न थाल्यो । अकर्मण्यताको शिकार हुन थाल्यो । जनता र देशको नाजुक अवस्था ज्युँका त्युँ भइरह्यो । अघि पनि भनेँ भ्रष्टाचार कुशासन पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । सत्ता केन्द्रित हुनु जुनसुकै दलका लागि पनि खराब चरित्र बनी उदाङ्ग भइसकेको छ । सत्ताका लागि जे पनि गर्नसक्ने तर देशका लागि पार्टीकै किचलोमा अलिमलिरहने परिपाटी हुँदै गयो ।
हामी सचेत जनता चुप लागेर बस्यौँ भने निरङ्कुशता बढ्दै जान सक्छ त्यसैले होशियार हुनै पर्छ अनि खबरदारी गरी नै रहनुपर्छ । शहीदको आवाज बोकेर अवश्य नै देश गणतन्त्रसम्म अघि बढिसकेको छ । जनआन्दोलन, जनयुद्ध पछि पनि मधेश, थरुहट आदि थुप्रै जनआन्दोलनहरूका बलबाट हामीले संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संबिधान बनाउन पनि सफल भयौँ । जहाँसम्म हाम्रो देशको संविधानको प्रश्न छ त्यसमा हामी अहिले कार्यान्वयनको चरणमा छौँ । यसका लागि जनआन्दोलनका उपलब्धिहरूलाई रक्षा गर्दै अनि अनुशरण गर्दै जानुपर्ने हुन्छ । यसका लागि व्यवहारिकता पनि त्यतिकै आवश्यक छ । यदि हामी यसमा चुक्यौँ भने पहिलेझैँ निरङ्कुशता फर्किन पनि सक्छ । यसैले यो अत्यन्तै संवेदनशील घडी हो । मौलिक हक कार्यान्वयनका लागि विधायकी खुलापनका लागि छुट्टै कानुन बनाउनु अत्यन्तै आवश्यक छ । जनआन्दोलन तथा जनयुद्धको संयोजन अरू देशका आन्दोलनका इतिहास पढेर र परामर्शमा अलिअलि समाधान भए पनि पूरै समाधान हुने कुरो होइन । यसका लागि हामीले हाम्रा यी आन्दोलनका कहरका पराकाष्ठाहरू जुन मैले शहीद कथामा पनि समावेश गरिसकेको छु त्यसलाई मनन अनि मुल्याङ्कन नगरे यो अधुरो ह्ुन्छ । यसर्थ विश्व परिवेश जसरी नै दुई ध्रुवमा अवस्थित राजनीतिक शक्तिहरूलाई लोकतान्त्रिक किसिमले डो¥याउन सक्ने अक्षुण्ण यही संविधान हुनु आवश्यक छ । मात्र आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकरूपमा व्यवहारिक रूपमै परिवर्तन हुनुप¥यो । सबैको मानव अधिकार अनि स्वतन्त्रता हनन हुनु भएन । विदेशमा लागू गरेसरि हुबहु किसिमले लागू गर्दै जान खोज्दा धेरै बाधा आइरहेका छन् अझै आउने देखिन्छ । अनेकौँ घुम्ती, मोड अनि जोल्टिनहरू पार गर्दै लक्ष्यतर्फ अघि बढेको २०७२ असोज ३ मा तयार भएको युग बदल्ने हाम्रो देशको ऐतिहासिक संविधानको रक्षा गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो भन्दै यो संविधान बनेको उपलक्ष्यमा सम्पुर्ण न्यायप्रेमी जनतालाई शुभकामना पनि व्यक्त गर्दछु ।
अब पछाडि फर्कन सकिँदैन । गणतन्त्रको विकल्प गणतन्त्र नै हो अनि यसलाई अझ सुदृढ पार्दै लैजाने हो । समुन्नत गणतन्त्र प्राप्त गर्दै जाने हो । अबश्य नै यो प्रगतिशील बाटो हो । बरु अझ अहिले आम नागरिकले पाएको अधिकारभन्दा बढी जनतालाई अधिकार दिने कर्तव्य हामीले चुनावमा जिती पठाएका नेताहरूको हो । जनता सधैँ साथमा हुनेछन् । राजनीतिक दलहरू सबै देश र जनताका अति आवश्यक समस्याहरू समाधान गर्नमा एकजुट भएमा मात्र देशले काँचुली फेर्नेछ र जनताले राहतले चैनको सास फेर्न पाउनेछन् नत्र यही खिचातानीले सधैँ देश अनिर्णयको बन्दी मात्रै भइरहनेछ । राम्रा काम गर्ने नेतालाई खुट्टा कमाउन नदिई टेवा पनि दिँदै जानुपर्छ । यो नै शहीदहरूप्रतिको सम्मान हो तर अकर्मण्यता व्याप्त छ । शहीदको अपमान भइरहेको छ । सबैले आआफ्नो ठाउँबाट आवाज उठाउनैपर्छ । मैले पनि कलमको सहारामा यो “शान्ति सम्झौता” पुस्तकमार्फत आवाज उल्र्याएको छु । सबै जनाले आआफ्नो सीपअनुसारको आआफ्नो क्षेत्रबाट जनता र देशको हक–हितका लागि आवाज उठाउनै पर्छ अनि मात्र परिवर्तन हाम्रो हातमा आउनेछ ।
यस सङ्ग्रहमार्फत मैले शहीदसम्बन्धी शहीद शीर्षकका दुइटा कथाहरू पाठकहरू माझ ल्याएको छु अनि यावत् माथि व्यक्त गरिएझैँ जनजीविकाका सवालहरूका अन्य कथाहरू पनि पेश गरेको छु । यी यथार्थ कथाहरूबाट पनि स्पष्ट हुनेछ कि शहीदहरूले एकदमै पराकाष्ठासम्मको कठोर कहर खप्दा पनि देश र जनताको स्वार्थका लागि हाँसीहाँसी बलिदानी दिए । साधारण जीवनमै रमाइदिने, भोगविलासको जीवनको अभिलाषा नराख्ने अनि आम उत्पीडित जनताको अस्तित्व र स्वतन्त्रताका लागि तथा जनजीविका उकास्न सधैँ तत्पर भइरहने ती शहीदको कद जति उँचो छ सायदै कसैको पनि छैन । जसले निरङ्कुशता विरुद्ध लडे, जो काला साम्राज्य विरुद्ध उत्रे, जसले कहिल्यै दासता स्वीकारेनन् ती सच्चा निःस्वार्थ भावका जनसपूत देशभक्त शहीदको जति बखान गरे पनि कम नै हुन्छ । उनैले गर्दा नै गणतन्त्र सम्भव भएको हो । ती वीर शहीद सबैलाई बन्धनबाट मुक्ति दिलाउन डटे । अटल र अविचलित बनी जसले सधैँ अन्याय विरुद्ध महासङ्ग्रामी ज्वार उल्र्याए । त्यसैले ती शहीद जनजनको मनमनको हरेक ढुकढुकीमा छन् । हामीले शहीदको अथाह अनि अनन्त स्नेहको उच्च सम्मान गर्नु अपरिहार्य छ । शहीद तिमीप्रति हामी सधैँ नतमस्तक छौँ । देश र जनताका लागि मेरो जीवन समर्पित गर्दछु । वीर शहीदहरू सबैलाई उच्च सम्मान छ , अथाह स्नेह छ , ढुकढुकीदेखि प्रेम छ , क्रान्तिकारी सलाम छ ।
२०७८।०६।०३
विजु सुवेदी विजय
नोट ः मेरो शीघ्र प्रकाशन हुन लागेको “शान्ति सम्झौता” पुस्तकको भूमिकामा पनि यी विचारहरू समाहित गरेको छु । २०७८।०६।०३मा लेखिएको यो लेख अहिले पनि समय सान्दर्भिक भएर पोष्ट गरेको छु । अहिलेको समयअनुसार केही कुरा नमिल्न गएमा २०७८।०६।०३सम्मको समयलाई मान्य हुने कुरा जानकारीका लागि अनुरोध छ । यो लेखमा उल्लिखित समसामयिक मननीय कुराहरू अहिलेको समय सान्दर्भिक भएका कुराहरूका समस्याहरू समाधानका लागि नेपाल सरकारलाई अनुरोध पनि गर्दछु ।
Comments
Post a Comment