माझी दाइ

 माझी दाइ


डुङ्गा चालक हौ तिमी !

पार लगाउने काम धेरै ग¥यौ ।

कसैले अपुग दिए त कसैले मनग्गे ज्याला !

आपतबाट बचाई धेरैलाई त्यत्तिक्कै पार लगायौ ।


गोताखोरले पार लगाउन नसक्ने,

अँध्यारोलाई निभ्न नदिई,

एक मुठ्ठी आँतको अदम्य आँट र साहसले,

ज्यान हत्केलामा राखी,

अचूक समजसेवी उपचारले,

बिनाभेदभाव पार लगाउँदै गयौ ।


उत्कृष्टै भएता पनि,

आज कसैले नमान्ने दिन आयो तिम्रो ।

फोहोरी राजनीति यति गरे कि,

समुन्द्रको बीचमा फसेका छौ तिमी ।

तिम्रै कारण देशले फोहोरबाट मुक्ति पाएथे ।

तर आज जताततै फोहोर छ छ्यास्छ्यास्ती ।

कस्तो उल्टो रहेछ समाज !

कस्तो भँडुवा !

कस्तो विचलनको मापदण्ड !

यो तिम्रै कारण सावित गराइरहेछन् सबजना ।

अनि तिमीलाई फोहोरी चेतावनी दिँदैछन् ।

तिमी हारेकोमा खुसीको उन्माद छ सबमा ।

योभन्दा बिडम्बना अरु के होला ?

हेर्दा भट्किएको सावित गराए सबले तिमीलाई ।


यस्तो भेल उर्लियो,

यस्तो नकारात्मकता फैलियो,

किनाराको अत्तोपत्तो छैन ।

मसीहा भन्थ्यौँ हामी तिमीलाई !

तिमी त्यस्तो छैनौ थाहा छ सबलाई ।

इमानदारले बोल्ने वातावरण छैन ।

फोहोरको छिटा पर्ने डर छ ।

षडयन्त्रको सञ्जाल भयङ्कर छ ।

तिमीलाई फसाइएको छ ।

तर फेरि भन्दैछन् “तिमीले फसायौ” ।


जसलाई पनि थाहा छ ,

तिमीले समाजलाई अचाक्ली सेवा गर्छौ ।

तिम्रो गुण गुणभन्दा धेरै माथि छ ।

मननीय छ ,

अतुलनीय छ ,


तर तिम्रो मुक्तिका लागि कोही पनि आएनन् ।


तिम्रो बयान गरी नथाक्नेहरु आज किन विच्किए ?

किन आफ्ना गन्तव्यका बाटाहरु आफैले उडाए ?


छालले सुनामीको रुप लिइसकेको छ ,

पानीको धार बाक्लो छ ,

दलदलभन्दा ठूलो बिलखबन्द छ ,

अधुरो छ ,

अपूरो छ ,

किनाराको नामनिशान छैन ,

अणुबमभन्दा गहिरो चोट छ ।

क्षेप्यास्त्रभन्दा धारिलो धारमुनि अचानोमा छौ,

गहिराइको भूमरिमा पसेका छौ तिमी ।

र तिम्रो डुङ्गा पनि !


जहाज चलाउने कमाइले अनि,

जहान चलाउने कमाइले पनि,

डुङ्गा चलाउन विवश छौ तिमी !


त्यै डुङ्गा पनि चुहिएको छ ।

“डुब्न लाग्दा सिन्का पनि सहारा” भन्छन् सबै !

आँधी आउन् या तुफान !

“जित पनि उसैको हुन्छ जसले

जस्तो सुकै कठिन परिस्थितिमा हार मानेको हुँदैन ।”

भन्दै अरुकाे उत्प्रेरित धेरै ग¥यौ !


के गर्ने ?

भल भित्रै छिरिसकेको छ ।

तर भ्वाङ्पर्दा कसैले बचाउन सक्दैन ।

यो कसैलाई हेक्का भएन ।

सबका सब निम्छरा सावित भए ।

तिमीलाई कसैले बचाउने छाँट देखिएन ।

कसैमा दम देखिएन ।


खै कता विलाए ?

कहाँ भट्किए पौरखीहरु ?

मान्नैपर्छ तिमीलाई !

विश्राम तिम्रो शब्दकोषमा छैन ।

अझै कोशिस गरिरहेका छौ तिमी !


“तिमी भनेका जनता हौ !

तिम्रो डुङ्गा भनेको हाम्रो देश हो !!” खै कसले बुझेको ?


नोट ः राम्रा र असल नेतावर्गप्रति समर्पित


२०७८ चैत्र २१ सोमवार

बिजु सुवेदी विजय

bijusubedi@gmail.com



Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा