२.१४ (घ) प्रगतिवादी कथा
मेरो कथाको कथा शीर्षकको कथा सम्बन्धी कार्यपत्रमा यो प्रगतिवादी कथासम्बन्धी व्याख्यालाई पनि समेटेको छु ।
२.१४ (घ) प्रगतिवादी कथा
धार्मिक कथामात्र लेख्ने परम्परा तोडी आधुनिक कथा लेख्ने परम्परा वि.सं १९९० देखि सुरु भयो । त्यो बेलादेखि कथामा फाट्टफुट्ट जनभावना पनि मुखरित हुन थाल्यो । शासकवर्ग जनविरोधी भएकाले त्योबेला जनता जनवादी चेतलाई अप्रत्यक्षरूपमा व्यक्त गर्थे । २००६ सालमा पहिलो प्रगतीवादी कथा ‘गरिब’ प्रस्तुत गर्दा राणाशासन जीर्ण भएर पतन हुने समय भएकाले मात्र प्रकाशन भएको थियो ।
हिन्दी साहित्यकार रामविलास शर्माका अनुसार, “प्रगतिशील साहित्यको माने त्यो साहित्यसँग छ , जु्न साहित्यले समाजलाई अघि बढाउँछ , मानवको विकासमा सहायक हुन्छ । ‘के प्रगतिशील हुँदैमा साहित्य श्रेष्ठ हुन्छ त ?’ भन्ने प्रश्न सोधिनुको अर्थ सायद के हुन्छ भने साहित्यिक नभएर पनि कहिलेकाहीँ कुनै कृति विषयवस्तुकै कारणले प्रगतिशील र त्यसैले श्रेष्ठ मानिन्छ । ... हामीलाई त्यस्तो साहित्य चाहिन्छ , जसले एकातिर कलाको उपेक्षा नगरोस्, रस सिद्धान्तका नियामक जुन आनन्दको माग गर्दछन् त्यो साहित्यबाट मिल्नै पर्दछ , यद्यपि त्यसको एक मात्र उद्गम रस राज नहोस्, त्यसको परिणाम आत्माको चिन्मयता र अखण्डतामा नहोस् । कलात्मक सौष्ठवका साथै त्यो साहित्यमा व्यक्ति र समाजको विकास र प्रगतिमा सहायक हुने क्षमता पनि हुनै पर्दछ ।
हरिहर खनालका अनुसार, “प्रगतिशील साहित्य भनेको जीवनमुखी साहित्य हो । हाम्रो सामाजिक जीवनसित सम्बद्ध समाजप्रति उत्तरदायी साहित्य नै प्रगतिशील साहित्य हो ।” — साहित्य संवाद पृ.८५
शोषण मुक्त समाजका लागि विद्रोहात्मक प्रस्तुति, आर्थिक द्वन्द्व, वर्ग द्वन्द्व, सामाजिक अनि यावत् विकृति, विसङ्गति आदिलाई यस्ता कथामा व्यक्त गरिन्छ । यस्ता कथालाई समाजवादी यथार्थवादी कथा भनिन्छ । सामाजिक सामन्ती व्यवस्थाको विरोधी यस्ता कथा विशेष गरी यस्ता कथाहरू द्वन्द्वात्मक भौतिकवादबाट प्रेरित भई माक्र्सवादी सौन्दर्यको वैचारिक चिन्तनबाट अभिप्रेरित भई विद्रोही र क्रान्तिकारितातिर अभिप्रेरित हुन्छन् । माक्र्सवादका प्रणेता कार्ल माक्र्स तथा फ्रेडरिक एंगेल्सलाई मानिन्छ । ग्रामीण समाजको सुखदुःख, गरिबी, अभाव, अशिक्षा, अन्याय, अत्याचार, शोषण, विपन्नता आदिको दारुण अमानवीय परम्परागत थोत्रा मूल्यमान्यताको कुप्रथाको सशक्त विरोध तथा सहानुभूति अनि जरैसम्म निर्मूल गर्ने उद्देश्यले वर्गीय दृष्टिकोणबाट अभिप्रेरित, निम्न तथा निम्न मध्यमवर्गीय परिवारको आर्थिक दुरावस्था र विषमताको चित्रण, पारिवारिक जीवनको अति सूक्ष्म पक्षको चित्रण, कथ्य भाषा शैलीमा शिल्प सौन्दर्यमा सचेतना यस्ता कथाका विशेषता हुन् । प्रतिक्रियावादीहरूसँग भिडी शासनको लगाम आफ्नो हातमा लिनु, समतामूलक समाजका लागि उच्च वर्गको पराजय अनि निम्न वर्गको विजयको कथाबाट चित्रण गरिएको हुन्छ । जनताको शासन व्यवस्थाका लागि योद्धाहरूले भोगेका अभरहरूको चित्रण, भविष्यमा शोषण मुक्त समाज स्थापित हुने दृढ विश्वास, शिल्पभन्दा विचार पक्ष सुदृढ, शोषितप्रति स्नेह र शोषकहरूप्रति घृणा भाव, शोषणरहित समाज निर्माण नभएसम्म विद्रोह जारी राख्नु प्रगतिवादी कथाका विशेषताहरू हुन् । स्थानीय परिवेश तथा स्थानीय भाषा, संस्कृति, कलाको बेजोड चित्रण हुनु यस्तो कथाको विशेषता हो । समाज सामन्ती पुँजीवादी व्यवस्थाको पक्षपोषक भएकाले तथा शासन व्यवस्था पनि त्यस्तै भएकाले यस्ता नीति तथा व्यवस्थाको पक्षपोषित भएर निकै कलात्मक किसिमले कथा लेखिएका हुन्छन् । यसै परिप्रेक्ष्यले गर्दा प्रगतिवादी कथामा नीति तथा आदर्शको विरोध त हुन्छ नै तर कलात्मक पक्ष अलि फितलो हुन्छ । त्यसैले राजनैतिक आन्दोलनका सापेक्षमा वैचारिक अन्तर्वस्तुका कथाहरू अझै थुप्रै आउन बाँकी छन् । यसतर्फ नेपालका कथाकारहरूले सोच्नु नितान्त जरुरी छ ।
प्रगतिशीलको अर्थ हो प्रगति उन्मुख अर्थात प्रगतिको बाटोतिर । प्रगतिशील साहित्य जीवन जगत्का लागि एकदमै अपरिहार्य भइसकेको छ । त्यसैले त प्रगतिशील साहित्यले समाज परिवर्तन गर्नमा विशिष्ट भूमिका खेलेको हुन्छ । जुन वर्गका लागि यस्ता साहित्य लेखिएका छन् ती वर्ग कम शिक्षित छन् । तिनीहरूले सरल मात्रै बुझ्छन्, कम आयका हुन्छन् । अहिले समाज परिवर्तन भएसँगै विश्वमा सबभन्दा बढी ठेलीका ठेली प्रगतिशील पुस्तक नै छापिन्छन्, प्रकाशित हुन्छन् तर विडम्बना भनौँ कि के भनौँ प्रगतिशील साहित्य पहिलेजस्तो सरल भएनन् अहिले ती सबै कठिनकठिन शब्दले गर्दा बालुवा चपाएसरिका छन् अनि सस्तो मूल्यमा सहजै पाठकले पाउन सक्ने किसिमको पनि भएन । यसले गर्दा परिवर्तनको लक्ष्यतिर अघि बढ्न वाधा पुगिरहेको छ ।
हाम्रो देशमा ००७ सालमा प्रजातन्त्र, ०४७ सालमा बहुदलीय व्यवस्था, ०५२ सालको माओवादी आन्दोलन, ०६२÷०६३ को जनआन्दोलन हुँदै गणतन्त्र, मधेश आन्दोलन, सङ्घीय गणतान्त्रिक संविधान आइसक्दा प्रगतिवादी कथा पनि त्यही अनुरूप खुल्दैखुल्दै परिवर्तन हुँदै प्रगति उन्मुख हुँदै आएको पाइन्छ । शासनप्रणाली यसरी जनवलबाट परिवर्तन हुँदै गए पनि प्रगतिवादी साहित्यलाई अहिले परिवर्तनपछिका शासकहरूले पनि त्यति अङ्गिकार गरेको पाइँदैन । सधैँ प्रगतिवादीहरू उक्त सञ्चालकहरूको वक्र दृष्टिमा पर्ने गरेका छन् । नाममा जतिसुकै सर्वहारा वर्गको शासक बनी जनमत जिती शासनसत्तामा पुगे पनि अझैसम्म पनि पुँजीवादी शासनप्रणाली ढाल्न नसकेकाले गर्दा उही पुरानै कूप मन्डूकताले गर्दा उच्च वर्गको मात्र पक्षपोषण गर्ने शासन मात्रै आम सर्वसाधारण जनताले बेहोर्नु परिरहेको छ । यस्तो विकृत शासन सत्ता ढाल्न पनि आजको समयमा प्रगतिशील साहित्यको अत्यन्तै दरोकार भएको छ ।
अवश्य नै निम्न वर्ग तथा श्रमिक वर्गलाई नायक बनाएर उनीहरूको सङ्घर्ष, उनीहरूको मनोविज्ञान अनि माक्र्सवादको परिभाषा पनि समेटेर यस्ता कथाहरू रचिएका हुन्छन् । यस्ता कथाहरूको वर्चस्व प्रायः चिनीयाँ, रूसी र अलिअलि युरोपियनमा पाइन्छन् । निम्न वर्गका जनजनको मनमस्तिष्कमा यस्ता कथाले प्रभुत्व जमाएको हुन्छ । यसमा थुप्रै विचारको द्वन्द्व देखाएर द्वन्द्वबाट निस्कने परिणाम राम्रो विचार भएर आउँछ भन्ने वैज्ञानिक विचारलाई प्रगतिवादी विचार भनी निक्र्योल गरिएको हुन्छ । सृष्टि पनि विज्ञानको विचारअनुसार विकसित हुने क्रम भएजस्तै माक्र्सवाद विचारअनुसार द्वन्द्वात्मक भौतिकवादबाट अभिप्रेरित भएर विचारहरू संश्लेषित हुन्छ भन्ने मान्यता अङ्गालेको हुन्छ ।
यस्ता कथामा मानव जीवनमा भएका ठूला ठूला उथलपुथल परिवर्तनप्रति गौरवान्वित गरिएको हुन्छ । वर्गसङ्घर्षबाट आउने परिणामबाट क्रान्ति, परिवर्तन र परिणाममा सुन्दर भविष्य हुनेछ भन्ने विश्वास गरिएको हुन्छ । यस्ता कथा विचारविहीन अनि तटस्थ हुँदैन । घटनावलीहरूको इतिवृत्त मात्र यसमा हुँदैन बरु एउटा सशक्त र न्यायपूर्ण विचार कुन कारणले जायज छ त्यसको पक्षपोषण गरिएको हुन्छ । तसर्थ यसमा द्वन्द्वात्मक गतिशीलताका साथसाथै ऐतिहासिक भौतिकवादी विचारबाट अभिपे्ररित भएको हुन्छ । यसमा जनआन्दोलनको परिवर्तनको उभारबाट उपलब्धि भएका नवीन प्रवृत्तिको अनुशीलन र विवेचना हुन्छ । त्यसैले यो पनि एक किसिमको आन्दोलन हो जसले उपलब्धिहरूलाई रक्षा गर्दै परिवर्तनकामी बाटोतर्फ जाने अदम्य लक्ष लिएको हुन्छ ।
माक्र्सको भनाइ पनि छ “संसारको व्याख्या सबैले गरेका छन् तर मुख्य कुरा संसारलाई कसरी बदल्ने भन्ने हो ।” यही संसार बदल्ने मुख्य लक्ष नै प्रगतिवादी साहित्यले लिएको हुन्छ ।
यस्ता कथाले समाजमा भएका यथार्थ कुराहरूको प्रशङ्गबाट सिलसिला सुरु गरी कथा प्रारम्भ गरेको हुन्छ । विशेष गरी शोषित वर्गलाई प्रमुख पात्रको रूपमा केन्द्रित गरेर उक्त पात्रको प्रधानतामा जोड दिएको हुन्छ । उच्च वर्ग र निम्न वर्गको द्वन्द्व देखाएर सघनताबाट उक्त प्रमुख पात्रको विचार सही भएको देखाई नायकत्व गुण पाठकले छर्लङ्गसँग देख्ने बनाइदिन्छ र समाजवादी यथार्थप्रति अनुराग उत्पन्न गराइदिन्छ । जब पाठकले यस्ता कथा पढ्न थाल्छन् तिनमा निम्नवर्गप्रति सहानुभूति उर्लिन्छ । यस्तो कथाले पराकाष्ठासम्मको आर्थिक विषमता, सामाजिक भेदभाव, उच्चवर्गहरूको नग्न रवाफ, निम्न वर्गप्रतिको चरम दमनआदि जस्ता विकृतिविसङ्गतिहरूप्रति कटु आलोचना गरेर आम पाठकको मन जित्न समर्थ हुन्छ । त्यस्तै उच्च, सम्पन्न, धनाढ्य वर्गप्रति अचुक व्यङ्ग्यको झटारोले निरीह पात्रप्रति सद्भाव र आस्था जगाइदिन्छ । पाठकलाई न्यायपूर्ण रूपमा अन्धविश्वास, रूढिवादलाई त जरैदेखि उन्मुलन गर्नुपर्ने कुराको स्पष्ट आभास गराइदिन्छ । यसरी यी निम्नवर्गका लागि न्यायपूर्ण रूपमा बोलिदिने अनि उनीहरूको सङ्घर्ष जायज छ भनी समर्थनमा जति पनि लेखिने कला साहित्यलाई माक्र्सवादी सौन्दर्यशास्त्र मानिन्छ ।
“यस्ता सौन्दर्यशास्त्रको विकास गर्दा माक्र्स र एङ्गेल्सले स्वभावतः अघिल्ला पिंढीहरूको उपल्ब्धिलाई प्रयोग गरे । परन्तु सौन्दर्यशास्त्रको गाँठी प्रश्न, र सबैभन्दा पहिले त कला र यथार्थताको सम्बन्धको प्रश्न उहाँहरूले पूर्णतः मौलिक रूपमा भौतिकवादी द्वन्द्ववादको दृष्टिकोणबाट समाधान गर्नुभएको छ । भाववादी सौन्दर्यशास्त्रले कलालाई भाववादको त्यस्तो मूर्त रूप ठान्दछ , जुन वस्तुतः यथार्थवादभन्दा माथि उभिएको हुन्छ । कलाको कुनै पनि रूपको उत्पत्ति, त्यसको विकास, पराकाष्ठा तथा पतन — यी सबै कुरा माक्र्सभन्दा पहिले कलाको सिद्धान्त र इतिहासको अध्ययन गर्ने मानिसहरूका लागि अवोधगम्य कुरा थियो । किनभने यी सबै घटनाहरूलाई मानिसहरूको सामाजिक अस्तित्वबाट पृथक रूपमा हेरिन्थ्यो । विकासको आन्तरिक नियमहरूकै आधारमा मात्रै कला र साहित्यको सही ज्ञान प्राप्त गर्नु असम्भव छ भन्ने माक्र्स र एङ्गेल्सको धारणा छ । उहाँहरूको दृष्टिकोणमा कलाको सार, त्यसको आधारशीला, विकास र सामाजिक भूमिका केवल सामाजिक प्रणालीको समग्र विश्लेशणको आधारमा मात्रै बुझ्न सकिन्छ । सामाजिक प्रणालीभित्र आर्थिक तत्त्वले, अर्थात् उत्पादन–सम्बन्धनहरूसँगको जटिलतम अन्योन्यक्रियामा उत्पादन शक्तिहरूको विकासले प्राथमिक एवं निर्णायक भूमिका खेल्दछ । माक्र्स र एङ्गेल्सको भनाइअनुसार कला सामाजिक चेतनाको एउटा रूप हो, तसर्थ कलामा हुने सम्पूर्ण परिवर्तनहरूको कारण पनि मानिसहरूको सामाजिक अस्तित्वमा नै खोज्नुपर्छ । मानिसको कलात्मक प्रतिभा, सौन्दर्य विज्ञानको दृष्टिले जगत्को अध्ययन गर्ने उसको क्षमता, सौन्दर्यबोधको उसको प्रतिभा र कलाकृतिहरूको सिर्जना गर्ने उसको योग्यता मानव समाजको दीर्घकालीन विकासको फलस्वरूप उत्पन्न भएका हुन् र यी कुरा मानव श्रमका नतिजा हुन् । प्रत्येक ऐतिहासिक युगमा आफैमा अन्तर्निहित सौन्दर्यातमक आदर्श हुन्छ । र त्यसले आफ्नो विशिष्ट स्वरूपअनुसार कलाकृतिको सिर्जना गर्दछ , जसको अन्य अवस्थामा पुनरावृत्ति हुन सक्दैन ।” (पृ २१, ... माक्र्स, एङ्गेल्स साहित्य र कला)
यसमा माक्र्सले मानवीय श्रमबाट नै संसारमा परिवर्तन भएको मनन गर्दै श्रमिक वर्गको श्रमको उच्च सम्मान गरेका छन् । यहाँ कलालाई मुख्य रूपमा अभिव्यक्त गरिएको छ । अवश्य नै यो कलाको एउटा रूप साहित्यका लागि पनि यी विचार अत्यन्तै गहनतमरूपमा मननीय छ । समग्र रूपमा सम्पूर्ण सामाजिक क्रियाकलाप प्रत्यक्ष अनुभवका आधारमा अध्ययन गरेर निकालिएको निचोडले नै साहित्य जन्माउँछ , त्यो प्रगतिवादी साहित्य भएर उजागर हुन्छ । सामाजिक प्रणालीमा यस्तो साहित्यले अवश्य नै चेत खुलाइदिन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । दीर्घकालीन विकास पनि मानवीय श्रमकै उपज हो । कथामा पनि त्यही हो ।
“स्पष्ट कुरा छ , सामाजिक चेतनाका (खासगरी कला साहित्यका) रूपहरू र तिनको आर्थिक आधारका बीचमा निहित सम्बन्धबारे कुनै यन्त्रवत् धारणा बनाउने विचारबाट माक्र्सवाद धेरै टाढा छ । माक्र्स र एङ्गेल्सको लागि कुनै पनि सामाजिक पद्धति त्यसका विभिन्न पक्षहरूको जटिल र गतिशील अन्तर्सम्बन्ध तथा अन्योन्यक्रिया हो, जहाँ आर्थिक तत्त्वले केवल अन्तिम रूपमा मात्रै निर्णायक भूमिका खेल्दछ । वैज्ञानिक साम्यवादका संस्थापकहरू कलालाई आर्थिक प्रणालीको निष्क्रिय उपज मान्ने पक्षमा कदापि थिएनन् । यसको विपरीत उहाँहरूले सामाजिक चेतनाका रूपहरूले (निसंदेह कलात्मक सिर्जनाले समेत) त्यस सामाजिक वस्तुस्थितिमाथि सक्रिय प्रभाव पार्दछ , जसबाट स्वयम् त्यसको जन्म हुन्छ भन्ने कुरामा जोड दिनुभएको छ । यस्ता बौद्धिक संस्कृतिको अवस्था समाजको भौतिक उत्पादन, समाजको “भौतिक आधार”मा मात्रै होइन त्यस युगको लागि लाक्षणिक सामाजिक सम्बन्धहरूको चरित्रमा पनि निर्भर हुन्छ । अर्को शब्दमा सामाजिक सम्बन्धहरूको विशिष्ट चरित्र, वर्गीय अन्तर्विरोधको विकासको मात्रा, मानव व्यक्तित्वको विकासका लागि कुनै बेला निश्चित सम्भावनाको अस्तित्वजस्ता सबै तत्त्वहरूले कलाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेल्दछन् र त्यसको विकासको सम्भावना, चरित्र र दिशा निर्धारण गर्दछन् । कुनै पनि कलाकृतिका लागि सत्य चित्रण, चित्रित घटनाहरूप्रति निश्चित ऐतिहासिक दृष्टिकोण र पात्रहरूमा त्यस्ता सजीव व्यक्तिगत गुणहरू आवश्यक हुन्छन् , जसले त्यस्तो वर्गीय परिवशेको चरित्र, मनस्थिति व्यक्त गर्दछ , जसको यी पात्रहरूले प्रतिनिधित्व गर्दछन् ।” (पृ २२ ... माक्र्स, एङ्गेल्स साहित्य र कला)
कला साहित्य कहिल्यै पनि निष्क्रिय हुँदैन । यो समाजलाई गतिशील परिवर्तनतर्फ लाने कुरामा स्पष्ट हुन्छ । यो यन्त्रवत पद्धतिबाट धेरै टाढा हुन्छ । यसमा वर्गीय परिवशको चरित्र अन्तर्निहीत हुन्छ ।
“हिजोका दिनमा यो लडाइँ सरल थियो किनभने विचारका क्षेत्रमा आदर्शवाद, शून्यवाद, रूपवादजस्ता सामन्तवादी तथा पुँजीवादी विचारधाराहरूको स्वरूप र चरित्र पनि अपेक्षकृत सरल र स्पष्ट थियो । आज तिनको स्वरूप फेरिएको छ । चरित्र फेरिएको छ । त्यसैले स्वाभाविक रूपले तिनीहरूसँगको लडाइँ पनि जटिल बनेको छ ।” — (माक्र्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र, पृ.२०४)
साहित्यले यसरी बौद्धिक किसिमले आजको समाजको सरल अनि टेढामेढा यथार्थ रूपरेखाहरू छर्लङ्ग्याएर विचारको लडाइँ गर्ने स्थान तथा मार्ग स्पष्ट पारेको हुन्छ ।
“केही पछिल्लो समयको भए पनि प्रगतिशील लेखक सङघको स्थापना, राजनीतिक उपयोगितावादी सोच विरुद्धको सत्ता विरोधी लेखन र काव्यको रस अलङ्कारवादी तुकबन्दीबट मुक्त गद्य कविताको नयाँ रूपले पनि आधुनिक नेपाली कथा अभिप्रेरित हुनैपर्ने थियो, भयो । विख्यात विश्व आख्यानकार गोर्की, लेर्मेन्टोभ, टल्सटोय, चेखभ, लू शुनआदिको विस्मयकारी लेखनबाट चमत्कृत हुँदै नयाँ लेखनको प्रयासलाई साथ दिनु त्यो शून्यमा अनिवार्य पनि हुनैपर्ने देखिन्छ ।” — (पृ. ४९, सङ्क्रमणको साहित्य र समकालीनता)
प्रगतिको अर्थ उन्नति अनि उत्कृष्टतातिरको यात्रालाई मान्न सकिन्छ । यसैबाट पनि यसलाई परिवर्तनशील अनि जडता नभएको मान्न सकिन्छ । १९१७ मा वर्गविहीन समाजको पक्षपोषण गरी द्वन्द्वात्मक भौतिकवादका प्रणेता कार्ल माक्र्सले पारेको प्रभावले सारा विश्लाई विउँझाइदियो । सबै ठाउँमा यसको प्रचुर प्रभाव पर्नथाल्यो । नेपालमा भने राजनीतिक शासनप्रणालीका कारण २००७ सालपछि मात्रै यो विचार भित्रियो । यसरी प्रगतिवादी साहित्य नेपालमा पनि माझिँदै गयो । यही समयदेखि जुनसुकै कुरा पनि परिवर्तनशील हुन्छ , विचारसिद्धान्त जडवत् रूपमा स्थिर हुँदैन भन्ने विचारको प्रादुर्भाव भयो । मानव श्रम र माटोप्रति प्रेम उल्र्याउने सर्वहारा वर्गप्रति आस्था जगाउनमा यो विचारले महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । विश्ववन्धुत्त्वको भावसहित सम्पूर्ण श्रमिक वर्गलाई पनि यस्तो विचारले एकाकार गरिदियो ।
“यति चाहिँ अवश्य स्वीकार गर्नुपर्छ कि सस्तो भावुकता, उडन्ते रोमान्स, पलायनवादी भावना । सामाजिक दायित्त्वको उपेक्षाका विरुद्ध प्रगतिवादले ठोस यथार्थ, गम्भीर सङ्कल्पशक्ति, प्रगतिको आशामुखी सन्देश र अप्रिय पुरानो व्यवस्थाको ध्वंश र सर्वजनहितकारी निर्माणको स्वर मुखरित गरेर साहित्यिक क्षेत्रमा प्रगतिशील कथाले नवजागरण ल्याइदियो ।” — (पृ.२६६, साहित्य–प्रकाश)
गरिबको पीडालाई सहानुभूति दिनु हुँदैन । त्यो उनीहरूको कर्मको फल हो भनेर । धनी झन् झन् धनी हुने र गरिब झन् झन् गरिब हुने परम्पराले संसारमा असमानता व्याप्त छ । यस्तो असमानतालाई हटाउन एउटा सशक्त आवाज प्रगतिशील साहित्यले नै दिन सक्दछ । यस्तो रूढतालाई तोड्न एउटा विद्रोही आवाज न्यायपूर्ण आवाज त्यो एक मात्र प्रगतिशील साहित्यले नै दिन सक्दछ ।
प्रगतिवादको अर्थ निरन्तर परिवर्तन हो । यो निरन्तर परिवर्तनको सिद्धान्त जुनसुकै वादमा पनि लागू हुन्छ । जुनसुकै शासन प्रणाली होस् त्यो धेरै समय कालपछि परिमार्जित भइ नै रहन्छ । जुनसुकै सिद्धान्त होस् त्यो समयअनुसार परिवर्तन भइ नै रहन्छ । त्यसैले प्रगतिवाद गैर प्रगतिशीलहरूका लागि पनि अत्न्यन्तै महत्त्वपूर्ण हुन्छ । साहित्य, कथा लेख्नेहरूले पनि जुनसुकै वादका अनुयायी भए पनि उनीहरूले पनि यो निरन्तर परिवर्तनको प्रगतिवादी सिद्धान्तबारे यथेष्ट ज्ञान हासिल गरेकै हुनुपर्दछ । ठूलो दमन बढ्दै गएपछि एउटा उभार आउँछ , त्यसले फिलिङ्गोको रूप लिन्छ , जनताको अजेय शक्तिले परिवर्तन गरी छोड्छ । समाज यसरी परिवर्तित हुँदै विकसित हुँदै जान्छ । जनताले आफ्ना न्यायीक हकका अधिकारहरू प्राप्त गर्दैै जान्छन् ।
निरन्तर समाज परिवर्तनशील छ त्यसैले समाजका हरेक मूल्य मान्यताहरू समयको माग सँगसँगै परिवर्तन भइरहन्छन् । समाजलाई हित गर्ने सिद्धान्त पनि यति परिवर्तन भइसक्यो कि पहिलेजस्तो शोषीत र शोषक गरी जम्मा दुई वर्ग हुन्छन् । शोषक भनेको शासकवर्ग अनि शोषित भनेको पीडित वर्ग भनी हेरिन्थ्यो र त्यसैका आधारमा प्रगतिशील साहित्यलाई डो¥याइन्थ्यो । अहिले यी दुई वर्गका बीच पनि झन् ठूलो जमात देखा पर्न थालेका छन् । यी बीचका वर्गलाई जता लान सकियो त्यताबाट सशक्त आवाज आएर उथलपुथल पार्ने महासङ्ग्रामी ज्वार उर्लिने कुरालाई नकार्न सकिन्न । फेरि सर्वहारा वर्गकाहरू पनि नेतृत्वमा पुगिसके तर पुरानै संरचनाको जब्बर शासनप्रणाली भएका कारण टसको मस भएनन् । सबै साधारण जनता सबै रैतीको रैती नै भइरहे । यस्ता अन्यायी पक्षलाई न्याय दिलाउन, सशक्त आवाज एक मात्र प्रगतिशील साहित्यले, प्रगतिवादी कथाले नै दिन सक्दछ ।
बिजु सुवेदी विजय
reply to me at bijusubedi@gnail.com
Comments
Post a Comment