सवोच्च अदालतलाई छिट्टै फैसलाका लागि अनुरोध
सवोच्च अदालतलाई छिट्टै फैसलाका लागि अनुरोध !
सबैको आशाको केन्द्र पनि न्यायालय नै हो । शाही आयोगलाई पनि कानुनसम्मत किसिमले असफल सिद्ध पार्न सक्ने गौरवशाली फैसला गरिसकेको न्यायालय भएकाले अहिले सबैको आँखा यहीँ केन्द्रीत छ । प्रधानन्यायाधीशले लगातार बहस चलाएरै भए पनि तुरुन्तै न्याय दिलाइदिनुहुन अनुरोध गर्दछु ।
आम जनसमुदायहरु ! सर्वोच्च अदालतले पनि जनभावनाको कदर हुने गरी फैसला हुने जरुरी भइसकेको छ । लोकतन्त्र, विधिको शासन अनि अभिव्यक्ति स्वतन्त्रता कायम गराउन खबरदारी गरौँ । असंवैधानिक रुपमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरी चुनावको घोषणा गरेको एक महिना हुन आँट्यो । फैसला गर्न खुट्टा कमाउनु भएन । सारा जनता साथमा छन् । यो देशको संविधानभन्दा माथि कोही गएको छ । एक महिना हुनलाग्यो । अब यसप्रति ध्यान लगाउनु जरुरी भएको छ । यो अत्यन्तै गम्भिर विषय हो । देशलाई बरवादी हुनबाट जोगाउन र देशलाई पछि धकेल्नुभन्दा अगाडि संविधानसम्मत ढङ्गबाट हाम्रो कलिलो गणतन्त्रमाथि आँच आउन नदिन तत्कालै फैसला गरिदिनुहुन जोडदार माग गर्दछु ।
साथै सबै आम जनसमुदायहरु संविधानसङ्गत भएर लागिदिनुहुन पनि अनुरोध गर्दछु । लाखौँ जनताले उत्सर्ग गरी संविधानसभाबाट ल्याएको यो अमूल्य संविधानको होलटाइमर भएर रक्षा गर्नु हामी सबैको कर्तव्य हो । आज केपी ओली एकापट्टि र अरु सबै दलहरु संविधानपट्टि लागेका छन् । यसलाई सर्वोच्च अदालतले तुरुन्तै छिनोफानो गरिदिनुहुन पनि अनुरोध गर्दछु ।
प्रधानमनमन्त्रीज्यु ! नैतिकताका आधारमा तत्कालै राजीनामा दिनुहुन अनुरोध गर्दछु ।
प्रचण्ड माधव समूहका नेकपाका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल भन्नुहुन्छ , “यदि अहिले संसद पुनर्स्थापना भएन भने नजिर बस्छ र फेरि अर्को सनकी प्रधानमन्त्रीले समय अगावै नै यसरी विघटन गर्न सक्छन् । यस्ता प्रावधानलाई परास्त गर्न यो उत्तम संविधानको अहिले हामीले रक्षा गर्नुपर्छ । यो सरासर तानाशाही कदम हो । निरंकुश कदम हो । यसलाई कुनै पनि अदालतले अनुमोदन गर्न सक्दैन । यसलाई कसैले पनि समर्थन गर्न सक्दैनन् । संविधानभन्दा बाहिर कोही पनि छैनन् । आज केपी ओली संविधानभन्दा माथि बसेको छ । यसलाई कसैले पनि अनुमोदन गर्न सक्दैन । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्छ भनेर १००प्रतिशत ढुक्क छु । सर्वोच्च अदालत सम्मानित संस्था हो । ३ करोड नेपालीले सम्मनित गरेको अदालत हो । यस अदालतमा अनुभवी न्यायाधीशहरु हुनुहुन्छ । उहाँहरुले संविधानको व्याख्याबाहेक अरु केही पनि गर्नुहुन्न । संविधानको व्याख्या सही गर्दा केपी ओलीले गरेको काम नितान्त असंवैधानिक भन्ने स्वतः सिद्ध हुन्छ । ७०वर्षको राजनीतिक पाठ सङ्कलन गरी १०..१०वर्ष लगाएर दुईटा संविधानसभाबाट बनाएको संविधानका हस्ताक्षरी पनि हौँ हामी । यो संविधानको रक्षा गर्ने हाम्रो कर्तव्य हो । अहिले प्रधानमन्त्रीले देशको संविधानमाथि खेलबाड गरेको छ । यसरी संविधानमाथि खेलबाड गर्न पाइँदैन । अपव्याख्या गर्न पाइँदैन । सारा राष्ट्रका सामु ठग्ने काम गर्नु भो उहाँले ।”
नागरिक समाजले, नागरिक दलहरु पनि प्रतिगमनकारी, स्वेच्छाचारी, असंवैधानिक एवम् अलोकतान्त्रिक कदम विरुद्ध साझा संघर्षमा उभिनसमेत सबै नागरिकहरुमा अपिल गरेका छन् । साथै प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले देशमा राजनीतिक र संवैधानिक सङ्कट भएकाले मुलुकलाई सही मार्गमा ल्याउन आम नागरिकको दायित्त्व अनि कर्तव्य भएको स्पष्ट्याएका छन् ।
जनता समाजवादी नेपाल राष्ट्रिय पार्टीका अध्यक्ष उपेन्द्र यादवले, “आफ्नो पार्टी र सरकार दुबैमा असक्षम भएपछि हतास मानसिकताले संसद विघटन गरेर ओली तानाशाहको बाटोमा गइरहेका छन् । लोकतन्त्र, गणतन्त्र, संघीयता रक्षाका लागि सबै लोकतान्त्रिक र परिवर्तनकारी शक्ति एकजुट भएर प्रतिगमनकारी कदम खारेजी गराउनु नै आजको आवश्यकता भएको र संसद पुनर्स्थापना हुने पनि उनले बताए । उनले प्रतिगमनकारीहरुको अघोषित साँठगाँठले चुनावको प्रोपोगाण्डा ल्याएको पनि स्पष्ट रुपमा बताए ।
विद्वान अधिवक्ता श्री शम्भु थापाले संविधान लेखेकोदेखि बाहेकमा जाने हक राष्ट्रपतिलाई पनि छैन, प्रधानमन्त्रीलाई पनि छैन । यहाँ कुनै लोकतान्त्रिक अभ्यास पनि भएको छैन । लोकतान्त्रिक अभ्यास २०७२को संविधानपछि हुनथाल्यो । संसदको मृत्यु संसदले सरकार बनाउन सकेन भने मात्र हुन्छ । यसको आयु पाँच वर्षको हुन्छ । अर्को संसदमा जाँदा पनि वर्तमान संसदले अर्को संसद खोज्न गएको मानिन्छ । धारा ७७को ७मा लेखिएबमोजिम सरकार गठन नभएमा मात्र मन्त्रीमण्डल गठन गर्न नसकिएमा संसद स्वतः विघटन हुन्छ । मरेको मानिँदैन । अनि मात्र धारा ८५ क्रियाशील हुन्छ र स्वतः विघटनमा जान्छ । संसारका जुनसुकै सरकार असफल हुनका लागि सदनमा पुगेर सदनले असफल बनाएपछि मात्र हुन्छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजता कोइरालाले प्रतिनिधिसभा पुनर्स्थापना नगरी चुनावमा जान खोजेमा देशमा रक्तपात हुने खतरा रहेको जानकारी दिएकी छन् । यसलाई जोगाउन प्रतिनिधिसभा पुनर्स्थापनाको विकल्प नभएको पनि स्पष्ट पारिन् । पार्टी सभापति आफैले ल्याएको लोकतन्त्र संविधान विपरीत भएको भन्दै उहाँसँग यो विषयमा केन्द्रिय समितिमा कुरा उठ्ने बताइन् । संसदविना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुने उनले औँल्याइन् । चुनावको बिपक्षमा आफुहरु नभएको तर संविधानलाई ट्राएकमा ल्याउनु जरुरी भएको उनले बताइन् । उनले संसद पुनर्स्थापनाविना कांग्रेस चुनावमा नजाने कुरा स्पष्ट रुपमा बताइन् । ओली रङ्ग बदलिरहने, विचार बदलिरहने प्रधानमन्त्री भएकाले विश्वास गर्न नसक्ने बताइन् । त्यसैले देशलाई सङ्कटबाट जोगाउन ढिलो गर्नु नहुने पनि उनले बताइन् ।
अहिलेको लोकतन्त्र धरापमा परेको अवस्थामा पनि पार्टीको प्रचारप्रसार गरी नेकपाका दुबै पार्टीलाई कटाक्ष गरी चुनावी सभा खप्पिससँग गरिरहेका कांग्रेसका नेता गगन थापाले पनि भनेका छन् , “राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिस नपढिकन हस्ताक्षर गरेकाले राष्ट्रले दुःख पाएको छ । राष्ट्रपति पनि अपराधमा साझेदार हुनुभयो । उहाँ राष्ट्रपतिको भूमिकाबाट चुक्नुभयो । प्रधानमन्त्रीले नेपालको यात्रालाई पछाडि लानुभयो । यो प्रतिगमन विरुद्ध एकजुट भएर कांग्रेस उभिनु पर्छ । प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा ढुक्क छु । विरोध सामान्य आवाजले हुँदैन । दबाबै दिनुपर्छ । संविधान कुल्चिएको प्रमुख प्रश्न हो । प्रधानमन्त्रीजस्तो व्यक्तिको संविधानसम्मत रुपले सबै कुरा आम हुनु जरुरी छ तर छलकपट हुन्छ , पारदर्शी हुँदैन । उहाँका सबै कुरा आम हुनु जरुरी छ । तर यो भइरहेको छैन । यो छलछाम टिक्नेवाला छैन । न्याय निरुपणका लागि सामूहिक पहल हुनुपर्दछ । संविधानमाथि भएको यस्तो कुठाराघातलाई हेरेर हामी चुप लागेर बस्नु हुँदैन । लोकतन्त्रको रक्षा गर्नु कांग्रेसको प्रमुख कर्तव्य हो । लरतरो पारोले हुँदैन । स्टान्ड लिनुपर्छ । प्रतिरोध गर्नुपर्छ ।
नेपाल ल क्याम्पसका विद्यार्थीहरुले संविधान वाचन गरे । उल्लेखित धारा देखाउन चुनौती दिए । प्रधानमन्त्रीलाई क्याम्पसमा संविधान पढ्न आउन आग्रह गरे । नेविसंघले पनि प्रधानमन्त्रीका कदम विरुद्ध कपाल मुन्डन गरी विरोध जनाए तर मलामी जान लाग्दा प्रहरीले धरपकड गरे ।
काठमाडौँ जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले “केपी ओलीले आन्दोलनलाई घात पु¥याउनु भएको छ । लोकतन्त्रको मर्ममा प्रहार गर्नुभएको छ । आफुलाई मैँ हुँ भन्ने मैमत्त भएकाहरु अन्तिम समयमा निरीह हुनेछन् त्यस्तै केपी ओलीलाई पनि निरीह भएको पाउनुहुनेछ । त्याग र बलिदानको उपलब्धि हासिललाई उहाँले निमिट्यान्न पार्न खोजिरहनु भएको छ । त्यसैले हामी मोर्चामा उभिएका छौँ । सिङ्गो देश आक्रान्त भएको छ । हामी सही बाटोमा छौँ । ओली गलत बाटोमा छन् । हामीले ओलीको एक एक भ्रमलाई चिर्नु छ ।
त्यस्तै नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो :
यो विचारको लडाईं हो । यो राजनीतिक मुद्दाको लडाई हो । यो विधि, पद्धति पालन गर्ने नगर्ने बिचको लडाईं हो । यो राष्ट्रप्रति जिम्मेवार वा गैरजिम्मेवार हुने भन्ने लडाईं हो । हजारौँ घाइतेहरु, हजारौँ बेपत्ताहरु अनि हामीलाई यहाँसम्म ल्याउन त्याग र तपस्या गरेका सबैसबैलाई सम्मान गरौँ । प्रधानमन्त्री केपी ओलीले संविधानको मर्म र भावना विपरीत बोल्दा प्रतिक्रान्तिको साक्षी भएर बस्नुभएको छ ।
पार्टीको केन्द्रीय कमिटीको २ तिहाइ बहुमतले मात्रै पार्टीको विधान परिवर्तन गर्न सकिन्छ र कुनै बैठक बस्न पनि गणपुरक सङ्ख्या पुरा हुनुपर्छ । त्यसमा केपी ओलीले पनि साक्षी भएर सही गर्नुभएको छ । लोकतन्त्रप्रति हितका लागि संसदमा बहुमत नभएपछि , केन्द्रीय समितिमा पार्टीमा बहुमत नभएपछि म भए राजीनामा दिन्थेँ । उहाँले नैतिकता गुमाउनुभयो । संविधान धरापमा परेको छ । यसको रक्षा गर्नु हाम्रो कर्तब्य हो ।
संविधान बरवाद भइरहेको छ । देश बरवाद भइरहेको छ । उहाँ गर्व गर्दै हुनुहुन्छ । नेपाली जनता उहाँको गलत कदम विरुद्ध लाग्नेछन् । नेपाली जनताले उहाँलाई छोड्नेवाला छैनन् । हामी पनि छोड्दैनौँ । जब लोकतन्त्रमाथि उहाँले प्रहार गर्नुभयो, निर्माण गरेको संविधानमाथि आक्रमण गर्नुभयो, उहाँले हार्नुभयो । उहाँ गणतन्त्र विरोधी भयो भन्दैमा पार्टीका सबैजना गणतन्त्र विरोधी हुनुपर्छ भन्ने छैन ।
निरंकुश प्रवृत्तिका तानाशाहहरु आफ्ना गल्ती स्वीकार्दैनन् । उहाँले अहिले कसैलाई टेरिरहनुभएको छैन । उहाँप्रतिको व्यक्तिगत रिसइवी होइन । पार्टी फुटाउन नदिन धेरै भावुक, धेरै उदार हुने व्यक्ति म नै हुँ । मूल कुरा विचार, विधि अनि पद्धति हो । यसप्रतिको प्रतिवद्धता हो । उहाँको पार्टीभित्रको विचार फरक हुनाका कारण उहाँ उदार पुँजीवादी भएर हाम्रा पार्टीलाई नमान्नुसँग सम्बद्ध छ ।
मेरो लडाई केपी प्रवृत्तिका विरुद्ध हो । हामीभित्रका फोहोरी कमजोरी हटाउन हामी विरुद्धका तानाशाही प्रवृत्ति विरुद्ध हो । अवसरवाद विरुद्ध संघर्ष आफैभित्रबाट गर्नुपर्दछ । २१औँ शताव्दीको पार्टी समाजवाद निर्माण गर्ने यो आधार हो । पार्टीलाई विचार र विधिका आधारमा एकतावद्ध गरौँ । देश र जनताका स्वाधीनता उँचो बनाउने यो महान् लडाईं हो । यो क्रान्ति र प्रतिक्रान्तिबिचको जीवनमरनको लडाईं हो । एकजना व्यक्तिले निर्ममतापुर्वक अपमान गरेकोले हामी त्यसको साक्षी बस्न सक्दैनौँ । संघीय, लोकतान्त्रिक, गणतान्त्रिक संविधानले यो सदनलाई अझसम्म जिउँदो राखेको छ । अपराधीहरुलाई इतिहासको कठघरामा उभ्याउनै पर्ने हुन्छ । नत्र राष्ट्र अन्धकारमा जानेछ । संविधानको अक्षरअनुसार फैसला गर्नुहुनेछ भन्ने सर्वोच्च अदालतप्रति विश्वास गरेका छौँ । त्यसको सहजिकरणका लागि हामीले लाखौँ जनता सडकमा उतारेर गर्ने छौँ ।
जनसमुदायहरु ! तपाईंहरुको काँधमा निकै ठूलो बोझ आएको छ । यसलाई नयाँ उचाइमा उठाऔँ । यो देश बरवादीको खेल रोकिनुपर्छ । संविधान र लोकतन्त्र माथिको आक्रमणलाई विफल तुल्याऔँ ।
पुस २९, २०७७
बिजु सुवेदी विजय
प्रतिक्रियाका लागिbijusubedi@gmail.com
Comments
Post a Comment