नवमो तथा दशमो अध्याय :– पीठोत्पत्ति वर्णन

नवमो तथा दशमो अध्याय :– पीठोत्पत्ति वर्णन

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम ः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

नवमो तथा दशमो अध्याय :– पीठोत्पत्ति वर्णन 

नवमोे अध्याय :– पीठोत्पत्ति वर्णन

श्री गणेशाय नम ः श्री स्वस्थानी परमेश्वर्यै नमो नम ः
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि 
तहाँउप्रान्त सतीदेवीको शवलाई श्री महादेवजीको पिठ्युँमा बोकी पृथिबी भ्रमण गरेको इन्द्रादि  तेत्तीस कोटी देवताहरुले देखी वैकुण्ठमा गएर विष्णुसित विन्ती गरे ः– हे परव्रम्ह ! हजूर र महादेव नभए यो विश्व व्रम्हाण्डको रक्षा कोबाट होला ? यस बखतमा श्री महादेव दक्षप्रजापतिका यज्ञबाट सतीदेवीको मृत देहलाई पिठ्युँमा बोकी आफू पनि होश हराए झैं भएर पृथिवीमा भ्रमण गर्न लाग्नुभयो । जहिलेसम्म सतीदेवीको शरीर रहन्छ त्यो समयसम्म श्री महादेवले बोकेर हिँड्न छोड्नुहुने छैन । तसर्थ हे प्रभु ! यसबारे हजूरबाट केही उपाय नभए हाम्रो र लोकको कल्याण छैन ।”
इन्द्रादि देवताहरुका यी कुरा सुनेर भगवान विष्णुबाट आज्ञा भयो ः–“हे देवता हो ! तपाईंहरुले भलो कुरा सुनाउनु भयो । मैले सबै कुरा बुझेँ । अब म बेलैमा संसारको कल्याण हुने उपाय गर्छु । म आफ्नो मायाद्वारा माखाको उत्पत्ति गर्छु र सतीदेवीका शरीरका विभिन्न अङ्गमा औँसाको सृष्टि गराउँछु , त्यसपछि ती अङ्गहरु सडेर पतन हुनेछन् । यसमा कुनै सन्देह नलिई तपाईंहरु आ–आफ्ना लोकमा जानुहोस् ।”
भगवान विष्णुको यो आज्ञा सुनेर इन्द्रादि देवताले मायापति विष्णुलाई भक्तिपूर्वक प्रणाम गरी आ–आफ्ना लोकमा जाँदा भए । तहाँ उप्रान्त श्री विष्णुका मायाद्वारा अनेकौं माखा सृष्टि भयो । ती माखा गएर सतीदेवीका विभिन्न अङ्गमा बसी औँसा पारिदिए । जसले गर्दा त्यो मृत शरीरका अङ्गहरु ठाउँठाउँमा खण्डखण्ड गरी पतन हुन थाले । यसरी जहाँजहाँ सतीदेवीका अङ्गहरु पतन हुँदै गए त्यहाँत्यहाँ एकएक पीठ उत्पत्ति भई पितामह व्रम्हाले एकएक स्वयम्भू लिङ्ग उत्पन्न गराउनुभयो । प्रत्येक पीठमा देवी , योगिनी र महादेवका स्वरुप रहन गए ।
सर्वप्रथम नेपाल खण्डमा गुह्य पतन भयो । नेपाल पीठ , गुह्येश्वरीदेवी , चन्द्रघण्टा योगिनी , सिद्धेश्वर महादेव उत्पन्न भई शिवशक्ति स्वरुपले रहनुभयो । इन्द्रादि देवताले त्यो पुण्यभूमिमा आई तपस्या गरे । ईश्वरी गुह्येश्वरी देवी प्रशन्न हुनुभई देवतालाई सत्य , त्रेता , द्वापर र कलियुगमा तेत्तीसकोटी देवताका नामले प्रख्यात होऊ भनी वरदान दिनुभयो । ।।१।।
त्यसपछि सेना भन्ने ठाउँमा पुग्दा मुकुट पतन भयो । सेना पीठ , उमादेवी , अष्टवक्रा योगिनी , कोकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा आदित्यादि नवग्रह आई तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई के वरदान माग्छौ माग भन्नुभयो । यो सुनी हर्षित भएका आदित्यादि नवग्रहले जगतका हानीलाभको अधिकार मागे । ईश्वरी उमादेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। २ ।।
त्यसपछि कामरुपमा पुगेपछि छाती पतन भयो । कामरुप पीठ , कामाक्षादेवी , कर्ता योगिनी , चक्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यो पूण्यभूमिमा यक्षगण आई तपस्या गरे । ईश्वरी कामाक्षादेवी प्रशन्न भई यक्षले रोजेको वर स्वर्ग , मत्र्य र पाताल तीनै लोकमा यक्षगणका नामले प्रख्यात होऊ भनी वरदान दिनुभयो । ।। ३ ।।
त्यसपछि पौरबन्दरमा पुग्दा दाहिने कान पतन भयो । पौरबन्दर पीठ , अम्बिकादेवी , चन्द्रवेशा योगिनी, धनेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यो सिद्धभूमिमा दैत्यगण आई तपस्या गरे । ईश्वरी अम्बिकादेवी प्रशन्न भएर दैत्यगणले मागेको वर देवगणलाई जित्न सके भनी वरदान दिनुभयो । ।।४।।
त्यसपछि काश्मिरमा पुग्दा जिभ्रो पतन भयो । काश्मिर पीठ शारदादेवी , घोरघण्टा योगिनी , धर्मधारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सुन्दर भूमिमा किन्नर गण आई तपस्या गरे । ईश्वरी शारदादेवी प्रशन्न हुनुभई मनोकामना पूर्ण हुने वरदान दिनुभयो । ।।५।।
फेरि कन्नौजमा पुग्दा देहचर्म पतन भयो । कान्यकुब्ज पीठ , झंकेश्वरीदेवी , चन्द्रा योगिनी र दुग्धेश्वर महादेव उत्पत्ति हुनुभई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा लङ्काकाधिपति रावण आई तपस्या गरे र ईश्वरी झंकेश्वरीदेवी प्रशन्न हुनुभई देवलोक जित्न सकोस् भनी वरदान दिनुभयो । ।।६।।
फेरि सतीदेवीको मृतदेहलाई पीठमा लिई श्री महादेव पूर्णगिरीमा पुगे । त्यहाँ सतीदेवीको वायाँ आँखा पतन भयो । पूर्णगिरी पीठ , पूर्णदेवी कपालकुण्डला योगिनी , चन्द्रशेखर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस उमङ्ग र हर्षभूमिमा गन्धर्व गण आई नृत्य र गायन आदि गरेर तपस्या गरी सन्तुष्ट भएका ईश्वरी पूर्णदेवीबाट इन्द्रका अगाडि कहिल्यै नचुक्ने वरदान पाए । ।। ७ ।।
फेरि एकावीरमा पुगेपछि देव्रेपट्टिका नङ पतन भए  । एकावर पीठ , सिद्धेश्वरीदेवी , सिद्ध योगिनी , दधीश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस रत्नभूमिमा कर्णवीर आदि श्मशान आई तपस्या गरे । ईश्वरी सिद्धेश्वरीदेवी प्रशन्न हुनुभई मृतकहरुको दाह गर्न सके भनी वरदान दिनुभयो । ।। ८ ।।
त्यहाँपछि भृगुक्षेत्रमा पुग्दा माथिल्लापट्टिका दाँतहरु पतन भए । भृगु पीठ , मीनाक्षीदेवी , वज्रदेवी योगिनी सत्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा धर्मदत्त राजा आएर योग मार्गले तपस्या गरे । ईश्वरी मीनाक्षीदेवी प्रशन्न हुनुभई तिमीलाई कसैले पनि जित्न नसकुन् भनी वरदान दिनुभयो । ।। ९ ।।
त्यसपछि चन्द्रपुरमा पुग्दा दायाँ आँखा पतन भयो । चन्द्रप्ुर पीठ , सिद्धकालीदेवी ,सिद्धि योगिनी , र प्रकाशेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा  दशदिक्पाल आई तपस्या गरे । प्रशन्न भएकी ईश्वरी सिद्धकालीले तिमीहरुको आफ्नो दिक् स्थिति स्थिर रहोस् भनी वरदान दिनुभयो । ।। १० ।।
फेरि श्रीमा पुग्दा तालु पतन भयो । श्री पीठ भद्राक्षीदेवी , भद्रा योगिनी , कमलेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस भद्रभूमिमा अष्टवसु आई पूजा र तपस्या गरे । प्रशन्न भएकी ईश्वरी भद्राक्षीदेवीले तिमीहरुको इच्छा सिद्धि होस् भनी वरदान दिनुभयो । ।। ११ ।। 
फेरि जालन्धरमा पुगी तल्लो ओठ पतन भयो । जालन्धर पीठ  , जालपादेवी , ज्वालामुखी योगिनी , पिशाचेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा कामधेनु गाई आई नित्य दूध धारा चढाई तपस्या गरिन् । देवी प्रशन्न भएर वर माग भन्नुभयो । अनि कामधेनुले आफ्नो दूध र मलमूत्र पवित्र होओस् भनी मागिन् । इश्वरी जालपादेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १२ ।।
त्यहाँबाट कुशलान्तकमा पुग्दा शिरको केश पतन भयो । कुशलान्तक पीठ , श्मशान कालीदेवी , भूतघण्टा योगिनी , क्षारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा अश्विनी अदि सत्ताइस नक्षत्रहरु आई तपस्या गरे । श्मशान कालीदेवी प्रशन्न हुनुभई वरदान लेऊ भन्नुभयो । ज्योतिष शास्त्र हाम्रो अधिनमा रहोस् भनी नक्षत्रहरुले माग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १३ ।।
फेरि गोकर्णमा पुग्दा वायाँ कान पतन भयो । गोकर्ण पीठ , भैरवीदेवी , एकजंघा योगिनी , यज्ञेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस तपोभूमिमा विष्कुंभादि योग आई तपस्या गरे । भैरवीदेवी सन्तुष्ट भई वर माग भनी आज्ञा दिनुभयो । ज्योतिषशास्त्र हाम्रा अधिनमा रहोस् भनी योगहरुले वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १४ ।।
प्रतिदिन गलित हुँदै गरेकी सतीदेवीलाई पिठ्युँमा बोकेका श्री महादेव अट्टहास पुगेपछि तल्लापट्टिका दाँत पतन भए । अट्टहास पीठ , भ्रामरीदेवी , शंखधरा योगिनी , सप्त भूतेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा वागमती , गङ्गा आदि नदिहरु आई जलार्पण गरी भक्ति साथ तपस्या गरे । देवी प्रशन्न हुनुभई इच्छित वर माग भन्नुभयो र पुण्यतोया नदिहरुले भुक्तिमुक्ति दिने अधिकार हामीलाई प्राप्त होस् भनी वर मागे । ईश्वरी भ्रामरीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १५ ।।
त्यहाँबाट ॐकारेश्वरमा पुग्दा माथिल्लो ओठ पतन भयो । ॐकार पीठ , मातृकादेवी  , पूर्णोदर योगिनी , सन्तानेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा कल्पवृक्ष आई नाना फलफूल चढाई तपस्या गरे । प्रशन्न भएकी ईश्वरीले वरदान माग भनेको सुनी कल्पवृक्षले चिताएको वस्तु फलाउन सकौं भनी मागे । ईश्वरी मातृकादेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १६ ।।
फेरि उड्डिीयानमा पुग्दा शिरका केही भाग पतन भए । उड्डियान पीठ , विमला देवी , पिङ्गला योगिनी , यज्ञेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा हनुमान आई तपस्या गरे । श्री रामको सेवक हुन पाई लंका डढाउन सकुँ भनी वरदान माग्ने इच्छा भएका हनुमानबाट प्रशन्न भएकी विमलादेवी ईश्वरीले तिम्रो मनोकामना पूर्ण होस् भनी वरदान दिनुभयो । ।। १७ ।।
त्यहाँबाट मलयगिरीमा पुग्दा आसन पतन भयो । मलयागिरी पीठ , वज्रेश्वरी देवी  , कोमला योगिनी , जागेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा सत्यले तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । सत्यमा जो रहला त्यसको उद्धार गर्न सकुँ भनी सत्यले वरदान माग्दा वज्रेश्वरी देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। १८ ।।
त्यसपछि वाराणसीमा पुग्दा फेरि शिर पतन भयो । काशि पीठ , विशालाक्षीदेवी , शंकटा योगिनी , विश्वेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा गन्धर्वगण आई तपस्या गरे । ईश्वरी विशालाक्षीदेवी प्रशन्न हुनुभई गन्धर्वगणले मागेका वाक्सिद्धि होस् भनी वर दिनुभयो । ।। १९ ।।
त्यहँपछि कामरोष्ठमा पुगेपछि सतीदेवीको घाँटी पतन भयो । कामरोष्ठ पीठ , कामिनीदेवी , कालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा गई भूमिले तपस्या गरिन् । ईश्वरी कामिनीदेवी प्रशन्न हुनुभई स्थान होऊ भनी भूमिलाई वरदान दिनुभयो । ।। २० ।।

श्री महादेव फेरि चामुण्डाचलमा पुगे । त्यहाँ सतीदेवीको दाहिनेपट्टिका नङ पतन भए । चामुण्डाचल पीठ  , प्रकंपनीदेवी , कालिका योगिनी र इच्छा विकारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा नारद ऋषि आई तपस्या गरे । ईश्वरी प्रकंपनीदेवी प्रशन्न भई तिम्रो वाक्य सिद्ध होस् भनी वरदान दिनुभयो । ।। २१ ।।
त्यसपछि अष्टातकमा पुग्दा दाहिने हात पतन भयो । अष्तातक पीठ , कर्तेश्वरीदेवी  , एकाक्षी योगिनी , निद्रापतिश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा राधिकागण आई तपस्या गरे । सधैंभरि श्रीकृष्ण दाहिना होउन् भनी वरदान कर्तेश्वरीदेवीबाट तिनले पाए । ।। २२ ।।
त्यहाँबाट सतीदेवीलाई त्रिश्वेतमा पुर्याउँदा उनको मलद्वार पतन भयो । त्रिश्वेत पीठ , महाकालेश्वरीदेवी , विकट दन्ता योगिनी , त्रिपुरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शुद्धभूमिमा यमराज आई निष्ठापूर्वक तपस्या गरे । प्रशन्न भएकी महाकालेशवरीदेवीले व्रम्हाको सृष्टिलाई संहार गर्न सके भनी वरदान दिनुभयो । ।। २३ ।।
फेरि कैलाशमा पुगेपछि दाहिने पाउ पतन भयो । कैलाश पीठ , पार्वतीदेवी  , अम्बिका योगिनी , विश्वम्भेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा चतुरानन श्री व्रम्हा आई यज्ञ यज्ञादिद्वारा तपस्या गरेको देखी प्रशन्न हुनुभई ईश्वरी पार्वतीदेवीले तीनलोकको सृष्टिकर्ता हुने इच्छित वर दिनुभयो । ।। २४ ।।
फेरि केदारमा पुग्दा वायाँ हात पतन भयो । केदार पीठ , केदारेश्वरीदेवी , मुण्डा योगिनी , कोटेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा एकादश रुद्र आई योगमार्गले तपस्या गरी केदारेश्रदेवीलाई प्रशन्न गराई एकादश रुद्रको बराबरी एकसमान तेज हुने वरदान प्राप्त गरे । ।। २५ ।।
त्यहाँबाट श्री महादेवले सतीदेवीको गल्दै गरेको शरीर बोकेर एकावीर पुगे । त्यहाँ सतीदेवीको नाभी पतन भयो । एकावीर पीठ , एकावीरा देवी , गोरक्षा योगिनी , हाटकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा नागहरु आई नानारत्न र मणि आदि रत्नहरु चढाई तपस्या गरे । ईश्वरी एकावीरादेवी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो र नागहरुले सप्तपातालको अधिपति हुन पाऊँ भनी वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। २६ ।।
इति श्री स्कन्द पुराणे 
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
पीठोत्पत्ति वर्णन नाम नवमोअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!


दशमो अध्याय :– पीठोत्पत्ति वर्णन
कुमारजी आज्ञा गर्नुहुन्छ । हे अगस्त्य मुनि ! छब्बिसौं पीठको वर्णन मैले तिमीलाई सुनाइसकेँ । अब सत्ताइसौं पीठदेखि उताको वर्णन गर्छु । एक चित्त भई सुन । सतीदेवीका बाँकी रहेका अङ्गहरु पिठ्युँमा बोकी बेहोस् जस्ता हुनुभएका श्री महादेवजी त्यसपछि मल्लवीमा पुग्दा वायाँ पाउ पतन भयो । मल्लवी पीठ , महाकालीदेवी , कराला योगिनी , र भूपालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शान्त र पवित्र भूमिमा द्वादशादित्य आई तपस्या गरे । महाकालीदेवी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । हामी वाह्रै महिनाका स्वामी हुन पाऊँ भनी द्वादशादित्यले वर माग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। २७ ।।
त्यसपछि देवीकोटमा पुग्दा वायाँ घुँडो पतन भयो । देवीकोट पीठ , भद्राक्षीदेवी , ललिता योगिनी ,मालेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा मेषादि बाह्रराशिहरु आई तपस्या गरे । भद्राक्षी देवी प्रशन्न भएर के वर माग्छौ माग भन्नु भयो । मनुष्यहरु हाम्रा अधिनमा रहुन् भनी मेषादि राशिहरुले वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। २८ ।।
फेरि मातुलेश्वरमा पुग्दा दायाँ स्तन पतन भयो । त्यस ठाउँमा मातुलेश्वर पीठ , योगेश्वरी देवी , पिङ्गला योगिनी , वुधराधेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यस्थलमा कश्यपादि ऋषिवृन्द आएर तपस्या गरे । योगेश्वरी देवी प्रशन्न हुनुभएर हे ऋषि हो ! वरदान माग भन्नुभयो । चारैवेद हाम्रा अधिनमा होउन् भनी ऋषिहरुले वरदान माग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। २९ ।।
त्यहाँ उप्रान्त विश्वमा पुग्दा वायाँ स्तन पतन भयो । विश्व पीठ , भुवनेश्वरी देवी  , भुवन योगिनी , कृष्ण वर्णेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस रम्यभूमिमा कृष्ण आई तपस्या गर्दा भुवनेश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । श्रीकृष्णले पनि तीनै लोकका स्त्रीहरु मलाई देख्दा मुग्ध होउन् भनी वरमाग्दा ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३० ।।
फेरि श्री महादेव राजगृहमा पुग्नुभयो । त्यहाँ सतीदेवीको दाहिने कुहुनो पतन भयो । राजगृह पीठ , राजगृहेश्वरीदेवी , उल्कामुखी योगिनी  , हरेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा वायु आई सुगन्ध बहाई तपस्या गरे । प्रशन्न भएकी राजगृहेश्वरीदेवीले जीवात्माहरुको प्राणवायु हुन सकौं भनी वायुले मागेका वरदानलाई ‘तथास्तु’ भन्नुभयो । ।। ३१ ।।
फेरि महापन्थमा पुग्दा देव्रे कुहुनो पतन भयो । महापन्थ पीठ , प्रचण्डिका देवी , रेणुका योगिनी , विश्वामित्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्यभूमिमा अप्सराहरुले नृत्य र गायनद्वारा तपस्या गरे । प्रशन्न भएकी ईश्वरीले वरदान माग भनेको सुनी इन्द्रादि देवताहरुलाई प्रशन्न पार्न सकौं भनी अप्सराहरुले मागेको वरलाई प्रचण्डिका देवीले ‘तथास्तु’ भन्नुभयो । ।। ३२ ।।
त्यसपछि कोलापुरमा पुगी उदर पतन भयो । कोलापुर पीठ , महालक्ष्मीदेवी , नन्दा योगिनी  , श्मशानेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा गरुड आई नाना रत्न र फलफूल चढाई तपस्या गरेको देखी प्रशन्न भएकी महालक्ष्मीदेवीले वर माग भन्नुभयो । नागहरु मेरा आहारा होउन् भनी गरुडले वर मागे । ईश्वरीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३३ ।।
त्यसपछि सतीदेवीका बाँकी रहेका अहङ्गहरु बोकी एकापुरमा पुग्दा दायाँ घुँडो पतन भयो । एकापुर पीठ , साध्वक्षीदेवी , शंकुपा योगिनी , उन्मत्तेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्यस्थानमा शिलाहरु आएर तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई वर माग भन्नुभयो । हामी देवताका अङ्गमा लाग्न पाऊँ भनी शिलाहरुले वर मागे । ईश्वरी साध्वक्षीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३४ ।।
फेरि जयन्तीपुरमा पुग्दा कलेजो पतन भयो । जयन्तीपुर पीठ , जयन्तीदेवी  , खेचरा योगिनी , कल्पेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शुद्धभूमिमा तुलसी र कुश आई तपस्या गरे । ईश्वरी प्रशन्न भई वरदान लेऊ भन्नुभयो । स्वर्ग , मत्र्य र पाताल तीनैलोकजनले हामीलाई मानुन् भनी तुलसी कुशले वरदान मागे । ईश्वरी जयन्तीदेवी प्रशन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३५ ।।
त्यसपछि उज्जैनमा पुग्दा रगतको डल्लो पतन भयो । उज्जैन पीठ , महाकालीदेवी , लोला जिह्वा योगिनी , झङ्केश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्यभूमिमा हिमालयपर्वत आई तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भननुभयो । हिमालयले देवता , दैत्य र मनुष्यलाई मोक्ष पार्न सकुँ भनी वर मागे । महाकालीदेवीले प्रशन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३६ ।।
त्यहाँबाट चरित्रपुर भन्ने ठाउँमा दायाँपट्टिको करङ पतन भयो । चरित्रपुर पीठ , सुवर्णेश्वरीदेवी  , चित्रवर्णा योगिनी ,  वायव्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्यभूमिमा योगिनी गण आई तपस्या गरे । प्रशन्न भएकी ईश्वरीले वरदान लेऊ भनी आज्ञा दिनुभयो । योगिनी गणले हामीबाट यज्ञमा सिद्धि प्राप्त होस् भनी वरदान मागे । सुवर्णेश्वरीदेवीले प्रशन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३७ ।।
फेरि क्षीरिकापुरमा पुगी भुँडी पतन भयो । क्षीरिकापुर पीठ , युगाद्यादेवी , कलंकी योगिनी ,  सहस्रनेत्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा मातृकागण आई  विविध उपचार सहित पूजा र तपस्या गरे । ईश्वरीले प्रशन्न भएर वरदान लेऊ भन्नुभयो । मातृकागणले पनि हामी स्थानका मालिक हुन पाऔं भनी वर मागे । ईश्वरी युगाद्यादेवीले प्रशन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३८ ।।
फेरि हस्तिनापुरमा गई दायाँ कुम पतन भयो । हस्तिनापुर पीठ , चण्डेश्वरी देवी  , कोटराक्षी योगिनी , मुसुखारेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस वीरभूमिमा सुदर्शन चक्र आई तपस्या गरे । प्रशन्न भएकी ईश्वरीसित संहारकर्ता हुनपाऊँ भनी सुदर्शन चक्रले मागेको वरलाई चण्डेश्वरीदेवीले प्रशन्न हुनुभई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ३९ ।।
त्यसपछि प्रयाग पुग्दा फोक्सो पतन भयो । प्रयाग पीठ , सुन्दरी देवी , सिँह प्रजंधा योगिनी , महेन्द्रेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा दशअवतार आई तपस्या गरे । प्रशन्न भएकी ईश्वरीले वरदान लेऊ भन्नुभयो । सत्य आदि चारै युगमा दैत्यहरुको संहार गर्न सकौं भनी दशअवतारले वर मागे । ईश्वरी सुन्दरी देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४० ।।
फेरि विश्वमा पुगी मिर्गौला पतन भयो । विश्व पीठ , झङ्केश्वरीदेवी , झङ्काली योगिनी , कुण्डलेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस कर्मभूमिमा विश्वकर्माले राम्राराम्रा मन्दिरहरु बनाएर तपस्या गरे । त्यो देखी ईश्वरी झङ्केश्वरीदेवी प्रशन्न हुनुभएर सत्य आदि चारै युगमा तिम्रो कीर्ति स्थिर रहोस् भनी वरदान दिनुभयो । ।। ४१ ।।
फेरि मायापुरमा पुग्दा फियो पतन भयो । मायापुर पीठ , मायादेवी , चञ्चला योगिनी , तपस्येश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा चतुर्षष्ठी लिङ्ग आई तपस्या गरे । ईश्वरी प्रशन्न भई वरदान माग भन्नुभयो । चतुर्षष्ठी लिङ्गले हामी स्वयम्भू लिङ्ग भइराहौं भनी वरदान मागेपछि इश्वरी मायादेवीले तथास्तु भनी वरदान दिनुभयो । ।। ४२ ।।
त्यसपछि मल्लगिरीमा पुगेपछि देव्रे कुहुनो पतन भयो । मल्लगिरी पीठ , मल्लिका देवी  , कोकटा योगिनी , कुशोत्पनेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पूण्य घोर वनमा भूत, प्रेत , पिशाच अदि आई नाची खेली तपस्या गरे । ईश्वरीले प्रशन्न भई वरदान लेऊ भन्नुभयो । भूत, प्रेत , पिशाच अदिले देवी कै नजिक बस्ने इच्छा व्यक्त गरे । ईश्वरी मल्लिकादेवीले आफ्नै सामिप्य दिई ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४३ ।।
त्यहाँबाट मेरुगिरीमा पुग्दा शुचीस्थान पतन भयो । मेरुगिरी पीठ , पूर्णांदेवी ,कपालिनी योगिनी , जिह्वापतेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा सप्तनाग आई  हीरा , मोति मणि–माणिक्य आदि नाना रत्न चढाई तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । हाम्रो शरीर अगम्य हाओस् भनी नागहरुले वरदान मागेपछि ईश्वरी पूर्णांदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४४ ।।
त्यसपछि महेन्द्राचलमा पुग्दा दक्षिण जङ्घा पतन भयो । महेन्द्र पीठ , इन्द्राक्षीदेवी , उध्र्वगामिनी योगिनी , तारकेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस पुण्यभूमिमा लक्ष्मीदेवी आई नाना उपचार सेवा गरिन् । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । लक्ष्मीदेवीले प्रत्येक वर्षको कार्तिक कृष्ण आमावाश्याका दिन लोकमा मेरो पूजा र सम्मान होओस् भनी माग्नुभयो । ईश्वरी इन्द्राक्षीदेवीले पनि ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४५ ।।
त्यसपछि वानरपुरमा पुगी सतीदेवीको देब्रे तिघ्रो पतन भयो । वानरपुर पीठ , कामेश्वरीदेवी , भैरुण्डा योगिनी , वेदान्तेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस मोक्षभूमिमा कमल आदि पुष्प आई तपस्या गरे । ईश्वरी सन्तुष्ट हुनुभई वरदान माग भन्नुभयो । कमल आदि पुष्पहरुले हामी उषाकालमा सौन्दर्यसाथ फक्रन पाऊँ भनी वरदान मागे । यो सुनेर कामेश्वरी देवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४६ ।।
फेरि हिरण्यपुर पुग्दा गर्भस्थान पतन भयो । हिरण्यपुर पीठ , नवरत्नेश्वरीदेवी , त्रिपुरेन्द्र योगिनी , नारदेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस ज्ञानभूमिमा सरस्वती आई धेरै दिव्य स्तुति गरी तपस्या गरेको देखेर ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । सरस्वतीले पनि लोकका जति जीवात्मा छन् तिनका वाणीमा गएर बस्न पाऊँ भनी वर माग्नुभयो । यो सुनी नवरत्नेश्वरीदेवीले पनि ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४७ ।।
त्यहाँबाट महालक्ष्मीपुरमा पुर्याएकी सतीदेवीको देब्रपट्टिको करङ पतन भयो । लक्ष्मीपुर पीठ , कमलाक्षीदेवी , दिगम्बरा योगिनी , त्रिकुटेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस सिद्धभूमिमा अणिमादि आठ सिद्धि आई योग मार्गले तपस्या गरे । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । अष्टसिद्धिले पनि हामी अमर हुनपाऊँ भनी वर मागे । यो सुनी कमलाक्षीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४८ ।।
फेरि उमेशपुरमा पुग्दा नितम्ब पतन भयो । उमेशपुर पीठ , त्रिपुरसुन्दरीदेवी , सुशंकोदरी योगिनी , भैरवेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस रम्यभूमिमा मेघ आई मानसोपचारले पूजा गरे । ईश्वरी प्रशन्न हुनुभई वरदान माग भन्नुभयो । मेघले पनि लोकको उद्धारका निम्ति जलदान गर्न सकुँ भनी मागे । ईश्वरी त्रिपुरसुन्दरीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ४९ ।।
त्यसपछि छायाछत्रमा पुग्दा शेष रहेका सतीदेवीका अङ्गहरु सबै पतन भए । छायाँछत्र पीठ , छत्रेश्वरी देवी , सुकोमला योगिनी , पिशाचेश्वर महादेव उत्पत्ति भई शिवशक्ति स्वरुपले रहनुभयो । त्यस शान्तभूमिमा अष्ट भैरब आई नाना उपचारले पूजा गरे । ईश्वरीले दर्शन दिई वरदान लेऊ भन्नुभयो । हर्षित भएका अष्टभैरबले पनि मातृकागणको अधिपति हुन पाऊँ भनी मगे । ईश्वरी छत्रेश्वरीदेवीले ‘तथास्तु’ भनी वरदान दिनुभयो । ।। ५० ।।
हे अगस्त्य मुनि ! “जहाँजहाँ सतीदेवीका अङ्गहरु पतन भए , त्यहाँत्यहाँ एकएक पीठका उत्पत्ति हुँदै गए भनी मैले माथि पनि बताइसकेको छु । सबै पीठहरुको सँख्या साढेसात कोटी छन् अर्थात सात करोड पचासलाख छन् । ती मध्ये यहाँ वर्णन गरिएका पचास पीठहरुका मात्र दर्शन गरे पनि मनोकामना पूर्ण हुनेछ । यी पचास मध्ये एक पीठको मात्र पनि भक्ति र श्रद्धापूर्वक दर्शन , पूजा र सेवा गरे पनि मनोवाञ्छित इच्छा सिद्धि हुनेछन् । मनुष्य जन्म पाएर सबै शक्ति पीठ पुगेमा त जीवन अत्यन्तै अत्यन्तै महासफल हुनेछन् । एकै पीठको मात्र दर्शन गर्नाले पनि जन्म सफल हुनेछन् । जीवन सफल हुनेछन् । नराम्रा कुराहरुमा मन लाग्ने छैनन् । राम्रा राम्रा बिचारहरु जन्मनेछन् । आफ्ना राम्रा बिचारहरुबाट संसारमा ज्योति फैलिई अन्धकाररुपी नराम्रा बिचारहरु हराएर जानेछन् । यी सब श्री महादेवजीका शिवशक्ति स्वरुपका अत्यन्तै साना अंशहरुका अत्यन्तै ठूला फल दिने पीठहरु हुन् । त्यसैले श्री स्वस्थानी परमात्माको यो पीठको कथा सम्पूर्ण श्रवण गर्नु पर्दछ । ” भन्ने यी फलदायी अर्तिउपदेशहरु चतुरानन व्रम्हाजीको कथन छ ।
आगौं कथा अर्को अध्यायमा ।  
इति श्री स्कन्द पुराणे 
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
पीठोत्पत्ति वर्णन नाम दशमोअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!


ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
         गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
        यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
        बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
        नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

२०७२ माघ कृष्ण सप्तमी
२०७२ माघ १७ गते आइतबार
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाडौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा