कथाको कथा (कथासम्बन्धी शोधमूलक साहित्यिक खोजपत्र)
(कथासम्बन्धी शोधमूलक साहित्यिक खोजपत्र) परिच्छेद १ १. सङ्कल्प/पाठकसँगको करारनामा/कार्यपत्र १.१ अनुसन्धानको दायरा कथाका बारेमा मुख्यतः प्रमुख प्राथमिकताका साथ अध्ययन गरी भाषा र साहित्यका बारेमा पनि केही अध्ययन गरी साहित्यसम्बन्धी तथ्यहरू सङ्कलन गरिएको आधारमा, त्यसैलाई अध्ययन र विश्लेषण गरी तिनकै आधारमा निष्कर्ष निकालिने शोधपद्धतिअनुसार स्वतन्त्रतापूर्वक कथालाई मुख्य विषयवस्तु बनाई यो शोधमूलक कथा तथा साहित्यसम्बन्धी विस्तृत सर्वेक्षणमूलक अध्ययन लेख, कार्यपत्र जे भने पनि प्रस्तुत गरेको छु । अङ्ग्रेजीमा यसलाई रिसर्च भनिन्छ । अर्थात् फेरि सर्च अर्थात् पुनः खोज गर्नु । अब्राह्म फ्रान्सिसका शब्दमा “लुकेर रहेको तथ्यलाई सिद्धान्तीकरणसम्मको चरणमा पु¥याइदिने काम अनुसन्धान हो ।” लेखकको यही आशा हो कि पुनः खोज खोतलखातल गर्दा फेरि कुनै समाजोपयोगी कुराहरू अवश्य नै निस्कनेछ । हरेक पटक खार्दा खानीबाट उपयोगी कुराहरू निस्किए जस्तै यस अध्ययनले पनि साहित्यलाई हरेक पटककोे तथ्यको मन्थनबाट विचारका कुञ्जहरू निस्किएसरि बहुमूल्य कुरा अवश्य नै दिन सफल हुनेछ भन्नेमा विश्वास गरेको छु । अवश्य नै यो पुनः व्याख्य...